काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र तिलगंगा प्रतिष्ठानबीच आँखाको उपचारमा नागरिकको पहुँच बढाउने विषयमा सहयोग आदानप्रदान सम्बन्धी सम्झौता भएको छ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेल र तिलगंगाका कार्यकारी निर्देशक डा. सन्दुक रुइतको उपस्थितिमा सम्झौता भएको हो।
सम्झौता अनुसार मन्त्रालयले तिलगंगाको सेवा तथा क्षमता वृद्धिका लागि सघाउने छ भने तिलगंगाले उत्पादित लेन्स दुर्गमका नागरिकलाई १० प्रतिशत तथा अन्य नागरिकका लागि अधिक छुटमा उपलब्ध गराउने छ।
सरकारको भन्सार तथा मूल्य अभिवृद्धि छुटमा तिलगंगाबाट उत्पादित लेन्स विभिन्न देशमा निर्यात भइरहेको छ। अब सम्झौताअनुसार तिलगंगाले ती लेन्स देशका नागरिकले प्राप्त गर्नका लागि हालको रकममा छुट प्रदान गर्नेछ।
यसैगरी तिलगंगाले आँखा स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्दै अन्धोपन निवारणका लागि वर्गीकृत दक्ष जनशक्ति उत्पादन गरी ग्रामीण तहसम्म आँखा स्वास्थ्य सेवा पुर्याउने छ।
मन्त्रालयले तिलगंगाका परियोजना कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायहरूमार्फत समन्वय र सहकार्य गर्ने सम्झौतामा छ।
सम्झौतापछि बोल्दै मन्त्री पौडेलले डाक्टर सन्दुक रुइतको नेतृत्वमा नेपालले आँखा उपचारमा विशिष्टता प्राप्त गर्नु गौरवको विषय भएको बताएका छन् ।