काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विविधतायुक्त संस्कृति र सम्पदालाई राष्ट्रिय एकतामा बाँधेर मुलुकलाई रूपान्तरित गर्नुपर्नेमा जोड दिएका छन् ।
मदन भण्डारी कला-साहित्य प्रतिष्ठानद्वारा आयोजित तीन दिने हिमवत खण्ड कला-साहित्य-संस्कृति सम्मिलन, २०८१ को समापन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीले हिमवतखण्ड सम्मिलन हाम्रा संस्कृति, कला, साहित्य, इतिहास र सभ्यताको एउटा मिलन भएको र यहाँ राम्रो मन्थन भएको आफूले पाएको बताए ।
सभ्यता, ज्ञान, योग, दर्शन र संस्कृतिको सुरुवातका यही हिमवतखण्डबाट हुनुको असाधारण महत्त्व रहेको चर्चा गर्दै उनले यस भूखण्ड भौगोलिक, सांस्कृतिक र जैविक विविधताको नमुना भएको बताए ।
“यस्तो गौरव गाथा भएको भूखण्डको पहिचानलाई कसरी संरक्षितसहित अगाडि बढाउने भनेर हामीले साझा संकल्प गर्नुपरेको छ ।”, प्रधानमन्त्री ओलीले भने, “मानव सभ्यताका छ हजार वर्षका धेरै पुस्ताका इतिहास हामीसँग छन् । ती पुर्खाका योगदान हामीसँग छन् । आजको मानव जातिले आधुनिक खोज अनुसन्धानका साथै पुराना ती सम्पत्तिहरूलाई पेटेन्ट राइट्सका रूपमा संरक्षित गर्नुपर्नेछ । जेनेटिक मेमोरीलाई हामीले पुन:जन्म गराउनुपर्नेछ ।”
प्रधानमन्त्री ओलीले हिमवतखण्डको गौरव र नेपाली जनताको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अगाडि बढाउने संकल्पको भावलाई केन्द्रमा राखेर कार्यक्रमस्थलमै रचित कविता प्रस्तुत गरेका थिए ।
समापन सत्रमा छानिएका कविहरूले कविता वाचन गरेका थिए । नेपाल र विदेशका गरी करिव पाँच सय स्रष्टा सहभागी सम्मिलनले १७ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ ।
यही चैत १ गते पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मिलनको उद्घाटन भएको थियो ।