काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेशप्रसाद भट्ट नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बैठकले भट्टलाई प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो।
कार्यकारी प्रमुख नियुक्तिका लागि गठित सिफारिस समितिले भट्ट, सुमनकुमार कर्ण र मन्दिप सुवेदी गरी तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो। अन्तत: मन्त्रिपरिषद्ले भट्टलाई नेतृत्वको जिम्मेवारी दिएको हो।
नवनियुक्त प्रमुख भट्ट वातावरण तथा जलवायु परिवर्तनका अनुभवी विज्ञ हुन्। उनले त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक, थापाथलीलगायत विभिन्न क्याम्पसहरूमा करिब २० वर्ष अध्यापन गरिसकेका छन्।
त्यसैगरी, उनले विश्व बैंक, एसियन विकास बैंक, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, विश्व स्वास्थ्य संगठन, खाद्य तथा कृषि संगठन, स्विस विकास सहयोग, फिनिस विकास संस्था र ग्रीन क्लाइमेट फण्ड जस्ता अन्तर्राष्ट्रिय संस्थाद्वारा सञ्चालित परियोजनाहरूमा परामर्शदाता भएर कार्य गरिसकेका छन्।
हाल जलवायु परिवर्तनसम्बन्धी पीएचडी अध्ययनरत भट्ट खानेपानी, सरसफाइ तथा वातावरणसम्बन्धी पाँच पुस्तकका लेखक समेत हुन्।
प्राधिकरणको नेतृत्व सम्हालेसँगै भट्टलाई विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, आपत्कालीन उद्धार तथा पुनर्निर्माणका कार्यलाई प्रभावकारी बनाउने चुनौती छ। नयाँ कार्यकारी प्रमुखका रूपमा उनले विपद् व्यवस्थापनलाई दिगो बनाउन नीति, योजना र कार्यान्वयनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।