रुपन्देही । रुपन्देहीमा रात्रिकालीन बजार सञ्चालनको माग गर्दै बुटवल उपमहानगरपालिकासहित चार स्थानीय तहले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।
बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सिद्धार्थनगर र सैनामैना नगरपालिकाले ज्ञापन पत्र बुझाउँदै रात्रिकालीन बजार सञ्चालन गर्न माग गरेका हुन् ।
जिल्ला समन्वय समिति रुपन्देहीका मेयर उमाकान्त चपाइसहित बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेय, तिलोत्तमाका मेयर रामकृष्ण खाँण, सिद्धार्थनगरका मेयर इस्तिहाद अहमद खाँ र सैनामैनाका मेयर फणीन्द्र शर्माको टोलीले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई ज्ञापन पत्र बुझाएको हो ।
बुटवलको कालिका पथमा रात्रिकालीन बजार सञ्चालन गर्ने विषयमा सरोकारवालाहरूबीच पटक पटक छलफल भइए सहमति भए पनि अझैसम्म कार्यान्वयन हुन सकेको छैन ।
सरोकारवालाहरूसँग पटक पटक छलफलपछि बुटवल उपमहानगरपालिकाले बुटवलको कालिकापथमा रात्रिकालीन तथा ट्राफिक चोक र अमरपथमा राति ११ बजेसम्म बजार सञ्चालन गर्ने योजना अगाडि सारेको मेयर पाण्डेयले जानकारी दिए ।
रात्रिकालीन बजार सञ्चालन गर्ने उद्देश्यले प्रस्तावित क्षेत्रमा हाइमास्ड लाइट, सीसीटीभी क्यामेरा जडानलगायतका पूर्वाधार तयार भइरहेको उनले बताए ।