काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग मंगलबार नयाँ दिल्लीमा भेटवार्ता गरेका छन् ।
भारतको विदेश मन्त्रालयले नयाँ दिल्लीमा आयोजना गरेको राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहेका उनीहरुबीच आज सो भेटवार्ता भएको हो ।
सो भेटका क्रममा नेपाल मल्दोभा सम्बन्ध र आपसी हितका विविध विषयहरुमा कुराकानी भएको थियो । त्यस अवसरमा मन्त्री डा. राणाले जलवायु परिवर्तनले नेपाललाई नराम्रोसँग असर गरिरहेको जानकारी दिँदै यस समस्यासँग जुध्न कसरी मिलेर काम गर्न सकिन्छ भन्ने बारेमा कुराकानी भएको जानकारी मन्त्री राणाको सचिवालयले दिएको छ ।
त्यस अवसरमा मन्त्री डा. राणाले नेपाल सन् २०२६ पछि विकासोन्मुख राष्ट्रको सूचीमा स्तरोन्नति हुन लागेको सन्दर्भमा नेपालले तयारी गरिरहेको र त्यसपछि नेपाललाई आवश्यक पर्ने सहायताका बारेमा पनि जानकारी दिएकी थिईन्। साथै उनले नेपालले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको सदस्यलगायतमा दिएको उम्मेदवारीका बारेमा जानकारी दिँदै त्यसमा मल्दोभाको सहयोगका लागि आग्रह पनि गरेकि थिईन् ।
मन्त्री डा. राणाले यसै हप्ता हुन लागेको विदेशमन्त्री मिहाइ पोपसोइको नेपाल भ्रमणबाट पनि दुई देशबीचको सम्बन्धलाई थप गतिशील बनाउन सहयोग पुग्ने धारणा राखेकी थिईन्।