काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राजनीतिक दलहरूमा देखिएको सत्तामोह र अवसरवादी प्रवृत्तिका कारण लोकतान्त्रिक अभ्यासमा समस्या देखिएको बताएका छन् । नेताहरूको छिनाझपटीका र असैद्धान्तिक गठबन्धनका कारण पनि नेताहरूप्रति अविश्वास पैदा भएको उनले टिप्पणी गरेका हुन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद शर्माले भने, ‘हामीले संविधान निर्माण भए पनि मुलुकको अवस्था सुधार्न दत्तचित्त भएर लाग्नुपर्थ्यो । गणतन्त्र र जनताको जनजीविकामा सुधार गर्नुभन्दा पनि पार्टीहरुबीच र नेतहरुबीच कुर्सीको छिनाझपटी, सत्तामोह, एक अर्काप्रतिका लागि गलौच, लाञ्छना र अवसर पाउँदा सबै असैद्धान्तिक गठबन्धनमा सामेल हुने प्रवृत्तिका कारण लोकतान्त्रिक अभ्यासमा केही समस्या र अविश्वास पैदा भएका हुन् ।’
विकृत लोकतान्त्रिक अभ्यासका कारण जनतामा निराशा पैदा भएको र त्यसैको फाइदा लिने उद्देश्यले राजावादीहरूले टाउको उठाउने प्रयास गरेको भन्दै शर्माले राजतन्त्र फर्किने कल्पना भने गर्न नसकिने बताए ।
लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएको बताउँदै उनले भने, ‘मलाई त राजतन्त्र फर्किन्छ भन्ने डर छँदै छैन । हाम्रा कमीहरू सच्याउन सक्छौँ कि सक्दैनौँ भन्ने डर मात्र छ ।’
उनले थपे, ‘वंशनाससँगै समाप्त भएको राजतन्त्र फेरि फर्कँदैन । बरु समाजमा बाँकी राजतन्त्रात्मक सोच, शैली, प्रवृत्ति, व्यवहार भने अन्त्य गर्नै पर्दछ । आफैँभित्रको राजतन्त्र अन्त गर्न लाग्नु आजको मुख्य काम हो । राजतन्त्र फर्किन्छ कि भन्दै अनावश्यक आशंकित हुन जरुरी छैन, होहल्ला गर्न जरुरी छैन ।’
संविधान कार्यान्वयनको दोस्रो कार्यकालसम्म आइपुग्दा जनआवश्यकताअनुसार कानून बनाउन नसक्नु कसको दोष हो रु भनेर पनि उनले प्रश्न पनि गरे । ‘संविधान कार्यान्वयनको दोस्रो कार्यकालसम्म आइपुग्दा संविधान कार्यान्वयनमार्फत अधिकारको प्रयोग गर्ने, जनचाहाना, आवश्यकताअनुसार कानून बनाउन नसक्नु हामी कसको दोष हो ? उनले प्रश्न गरे ।
प्रदेशलाई प्रभावकारी र स्थानीय तहलाई बलियो नबनाउनुपर्ने बताउँदै उनले केन्द्रिकृत मानसिकता त्याग्न नेताहरूलाई सुझाव दिए ।
उनले अहिले देशमा केही पनि भएन र यो देशमा केही पनि हुँदैन भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै त्यो गलत भएको बताए । पूर्वाधार विकास र मानव सूचकांकका दृष्टिकोणले विगतको भन्दा अहिले गुणात्मक प्रगति भएको धारणा राखे । तर सबै ठिकठाक छ भनेर भन्न नसकिने उनले बताए ।
उनले भने, ‘हाम्रो आश्वासन, महत्वाकांक्षा, आवश्यकता, नयाँ पुस्ताको सोच र छिमेकी मुलुकहरूको गति अनुरूप हाम्रो प्रगति नभएको पक्कै हो । त्यसकारण दुवै कुरालाई सही मूल्यांकन गर्दै कमजोरी सच्याउनुको विकल्प छैन ।’