सुदूरपश्चिम नेपालको कञ्चनपुर जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको टनकपुर बाँध– जहाँ महाकाली नदीको छालहरूसँगै बगेका छन् नेपालीका आँसु, पीडा र अनिश्चित भविष्य । नेपाल–भारत जलस्रोत सम्झौताका केही पानाहरूमा मात्र सीमित यो बाँध, हजारौँ नेपालीका कथा बोकेर उभिएको छ– एक मौन साक्षीझैँ ।
हामी महेन्द्रनगरबाट बिहानै निस्कियौँ, पश्चिमतिरको सडक समाउँदै । यात्रा छोटो थियो, तर मनभरि असङ्ख्य प्रश्नहरू थिए । टनकपुर पुग्नासाथ देखिएको पहिलो दृश्य थियो– भारतको विशाल संरचना, जहाँ नेपाली भूमिको अंश समाहित गरिएको छ । नदी किनारमा उभिएर हेर्दा, महाकाली आफ्नै देशको माटो छोडेर विदेशी भूमिमा सिञ्चित भइरहेझैँ लाग्थ्यो ।
खुल्ला बाँध तर बाँधिएका नेपाली सपना त्यहाँ छरपस्ट, अधकल्चै र अलपत्रै देखिन्थ्यो ।
यसरी टाँगामा बसेर बनबासा जाँदा पनि मन दुख्यो । यही बनबासामा मेचीबाट सुरु भएको महेन्द्र राजमार्ग टुङ्गिन्छ । कोहलपुर–बनबासा मार्ग पनि यही हो । र, यही हो नेपाल–भारत सीमा । लगभग साढे दुई दशकअघिको यो सम्झना अझैसम्म आलै छ । त्यहाँ कुनै सुरक्षा चौकी थिएन । नेपालीलाई सोधिखोजी गरिने तर भारतीयहरू नेपालमा विना रोकटोक आऊ–जाऊ गरिरहेको देखिन्थ्यो । कतिसम्म भने नेपालभित्रै नेपाली पैसा होइन भारतीय पैसा मात्रै चलेको दृश्य देखियो । आज पनि सायद अवस्था उस्तै होला ।
वास्तवमा टनकपुर बाँध मात्र प्रविधिको उपलब्धि थिएन, यो नेपाली जनताको संघर्षको प्रतिविम्ब पनि थियो । सम्झौताका कागजातहरू हेर्दा लाग्थ्यो– नेपालले पानी दिएको छ, तर सिँचाइ पाइरहेको छैन । नेपालले भूमि दिएको छ । तर आफ्नै भूमिमा अधिकार पाएको छैन । स्थानीय किसानहरूलाई सोध्दा थाहा पाइयो– उनीहरूको सपना पनि यही बाँधमा थुनिएको छ । पानीको अभावमा उनीहरूका खेत सुकेका छन्, बर्खामा बाढीले बगाएका छन् । घरबार विहीन भएर कतिको उठिबास भएर बिचल्लीमा परेका छन् ।
एक वृद्ध किसान, जसले आफ्नो जीवनकै आधा समय बाँध निर्माण हेर्दै बिताए, हाम्रो छेउमा आएर । उनले भने– ‘हाम्रो पानी गयो, माटो गयो । तर हाम्रो अधिकार कहिल्यै आएन । यहाँका किसानहरूले आँसुको सिँचाइ गरेर खेती गर्नुपर्छ ।’
उनको आँखामा आँसु देखेर मन पोल्यो । उनका कुराले मनमा स्पर्श गर्यो ।
सीमापारि सुख, सीमाभित्र दुःख प्रस्टै महसुस हुन्थ्यो । स्थानीय नेपाली ज्यान धन्न धैर्यको ठूलो पर्खाल लगाएर बाँचेका छन् ।
महाकालीको पानी भारतको खेतबारीमा सिँचाइ दिइरहेको थियो । यता नेपाली जमिन चिरा परेर, धाँजा फाटेर सुख्खा बन्दै थियो । उर्वर भूमि अब झन्–झन् सुख्खा मरुभूमि तुल्य बन्दै गइरहेको थियो ।
टनकपुरको गर्मी घामले पोलिरहेको बेला, नदी किनारमा खेलिरहेका केटाकेटीलाई सोधेँ– ‘बाबु नानीहरूका बुबा–आमा के काम गर्नुहुन्छ ?’
उत्तर आयो– ‘भारत जानुहुन्छ, काम खोज्न । नेपालमा काम नै छैन ।’
बाँधको भारतीय छेउमा हरियाली थियो, नेपाली छेउमा मरुभूमिझैँ दृश्य । पानी एउटै थियो । भाग्य फरक देखियो । नदी जति स्वतन्त्र बग्थ्यो । नेपाली जनताको जीवन त्यति नै असहाय देखिन्थ्यो ।
वास्तवमा राजनीतिका प्रवाहमा बगेका सम्झौताहरू नेपाली मनका लागि अलिकति पनि सहानुभूति प्रदान गर्न उन्मुख थिएन ।
टनकपुर सम्झौता सत्ताको लहरो बनेर पटक–पटक बलियो र कमजोर बनाइयो । सम्झौताका कागजमा लेखिएका प्रावधानहरू आजसम्म कार्यान्वयन भएनन् । नदीको धारजस्तै नेपाली नेतृत्व पनि दिशाहीन बन्दै गयो ।
एक स्थानीय सामाजिक कार्यकर्ताले भन्नुभयो– ‘हामीले महाकाली दिन सक्यौँ । तर न्याय पाउन सकिरहेका छैनौँ । हाम्रो आवाज काठमाडौं र दिल्लीसम्म कहिल्यै पुग्दैन ।’
उनको स्वर महाकालीको गडगडाहटमा बिलाएर गयो । साँझ परिसकेको थियो । सूर्य अस्ताउँदै गर्दा नदीको पानी सुनौलो देखिन्थ्यो । तर नेपालीहरूको भविष्य अँध्यारो नै थियो ।
बाँधको छायामा देखिने कलाका रेखाहरू होइन ती कालका निर्दयी रूपजस्तो मैले महसुस गरेँ । यहाँको सौन्दर्य पनि स्थानीयका लागि अभिशाप बन्दै आइरहेको छ । प्रत्येक साँझको अन्तिम सूर्यले भोलि बिहानको मिर्मिरेमा प्रदान गर्ने खुसी कति हृदय ग्राही हुन सक्ला भन्ने कल्पनासँगै ओछ्यानमा ढल्किन्छन् । अफसोस बिहानको सूर्यसँगै आउने नयाँ दिन पनि हिजो अस्तिको जस्तै निराशाजनक नै हुँदा महाकालीवासी नेपालीको मन कटक्क दुख्छ ।
हाम्रो टोलीमा एक जना चित्रकार पनि थिए । फोटो खिच्न नपाएको पीडामा उनले बाँधको दुवै किनाराका दृश्यहरू ‘स्केच’ गर्दै थिए । उनको क्यानभासमा भारतीय खेतबारी हरियो थियो, नेपाली जमिन बन्जर । माटो उही थियो, तर रङ फरक ।
उनले भने– ‘कलाले सत्य बोल्छ, इतिहास सम्झाउँछ । एक दिन मेरो यो चित्रले सत्य कुरा बोलेरै छाड्ने छ ।’
हामी नेपाल फर्कँदै थियौँ । तथापि टनकपुर बाँधले मनमा एउटा पीडा छोड्यो– सम्झौताहरू सरकारी कागजातमा मात्र सीमित हुँदा जनताको वास्तविकता कति कठोर हुनसक्छ ? महाकाली बगिरहन्छ, सम्झौताहरू बल्झिरहन्छन् । नेपाली मन त्यही बाँधमा थुनिएको छ ।
टनकपुर ब्यारेज पुग्नुअघि नै घाम टन्टलापुर थियो । महाकाली किनारै–किनार उक्लिँदा मस्तिष्कभरि अनेक प्रश्नहरू उम्लिरहेका थिए । सिमाना काटेर भारतीय भूभाग पस्नासाथ पानीको असीमित फैलावट देखियो– टनकपुर बाँधको विशाल जलराशि ।
यद्यपि ब्यारेज नजिकै पुगेपछि सुरक्षाकर्मीको निगरानी गहिरिएर आयो । मैले क्यामेरा झिक्न खोज्दा, चर्को आवाजमा आदेश आयो– ‘फोटो खिच्न मना हे !’
मैले अक्मकिँदै वरिपरि हेरेँ । भारतीयहरूले निर्बाध फोटो खिच्दै थिए । परन्तु नेपालीका लागि यो निषेधित क्षेत्र ! महाकालीको पानी नेपालकै पहाडबाट झरेको हो । नेपाली भूभागबाट बगेको हो । तर यहाँ आएर नेपाली स्वयं परदेशी बनेका छन् । आफ्नै जलस्रोतको छेउमा उभिएर समेत पानीलाई टुलुटुलु हेर्नुको विचारापनले मन कुँडियो ।
ब्यारेजको पारीपट्टि भारतको हराभरा भूमि देखिन्थ्यो– ठूला नहरहरू, सिँचाइका पाइपहरू, लहलहाउँदा बालीहरू । नेपाली भूमिमा भने बाँझोपनको छायाले छोपेको थियो । यहाँका किसानहरू पर्खिरहेका छन्– कहिल्यै नआउने पानीका थोपा । टनकपुर सम्झौताका कागजहरूमा नेपालीका हकको लेखाजोखा छ, तर वास्तविकतामा त्यहाँ शोषणको हस्ताक्षर मात्रै छन् ।
म सोच्दै अघि बढेँ । एक जना वृद्ध किसान मलिन अनुहार लगाएर खेतको डिलमा बसेका थिए । मसँग आँखा जुधेपछि उनले गम्भीर स्वरमा भने, ‘हाम्रो आफ्नै खोलाको पानी हाम्रै खेतमा बग्न पाउने भए, कतै टाढा श्रम बेच्न जानु पर्दैनथ्यो । के गर्नु बाबु, यहाँ त हाम्रा सपना पनि सुक्खा बालीझैँ ओइलाउँछन् ।’
म शब्दविहीन भएँ । त्यो अघिल्लो दिन काठमाडौँबाट झरेको सानो झरीको याद आयो । यहाँका खेतहरू त्यस्तो झरीको प्रतीक्षामा अनेकौँ वर्ष बिताउँदै छन् । टनकपुरको अनुशासनमा बाँधिएको महाकालीको वेग र नेपालीहरूको मौनता दुवै अस्वाभाविक लाग्यो ।
हिँड्दै गर्दा पारिपट्टि टनकपुर बजारका घरहरू देखिन्थे, चिल्ला सडकहरू, चटकीला पसलहरू । उता जीवन बगिरहेको थियो । यता थकित नेपाली भूमिले पानीको एउटा झरको पनि भिख मागिरहेको थियो । मेरो मनमा प्रश्न उठ्यो– के पानीले पनि सिमाना चिन्छ ? के उसले मालिक र नोकर छुटाउँछ ?
आकाशमा बादलहरू जुट्न थालेका थिए । तर वर्षा हुने कुनै छेकछन्द र अलिकति मौसमी पूर्वानुमान वा सङ्केतसम्म थिएन ।
म महाकालीको किनारै–किनार परतिर लागेँ । नदीको पानी बगिरहेकै थियो । अपितु टनकपुरको बाँधमा दुखेको नेपाली मन निको हुने कुनै ओखती थिएन । नेपाली माटोको प्यास कहिल्यै मेटिएन ।