काठमाडौँ । पर्सामा गत बिहीबार प्रहरीसहितको समूहले वीरगन्ज महानगरपालिका-२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीलाई कुटेका छन् । फागुन २९ गते होलीको दिन, साँझपख वडाध्यक्ष चतुर्वेदी एक पार्टी प्यालेसका सञ्चालकको छोराको जन्मदिनको पार्टीमा सहभागी हुन् पार्टी प्यालेस पुगेका थिए ।
पार्टीमा वीरगन्ज घर भई काठमाडौँमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ सई सागर शमशेर राणा, विपद् व्यवस्थापन केन्द्रमा कार्यरत प्रहरी जवान दिपेश क्षेत्री, वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानु लगायत उपस्थित थिए ।
रातको करिब ९ बज्न लाग्दा उनीहरू सबै जना खानपिनमा लागे । वडाध्यक्ष आशुतोष चर्तुवेदीलगायत अन्य ४ जना पार्टी प्यालेसमै खानपिन गरिरहेका थिए । सोही समयमा केही युवाहरूको समूह होहल्ला गर्दै वडाध्यक्ष बसेको ठाउँतर्फ लागे । ती युवाहरू आएपछि वडाध्यक्षसँगै बसिरहेका एक युवक उनीहरूलाई रोक्न गए । तर भित्र पसेका ती व्यक्तिहरूले रोक्न गएका युवकलाई धकेलेर वडाध्यक्ष तिरै पुर्याए । ती युवाहरू वडाध्यक्षको छेउमा पुगेर कसैसँग फोनमा कुरा गर्दै थिए । सोही बेला अर्कोपट्टिको ढोका तोडेर केही युवाहरूको समूह वडाध्यक्ष भएको हलमा प्रवेश गर्छन् ।
ढोका तोडेर खैरो रङको टिसर्ट लगाएका नगवाका भुसाल चौरसिया हलभित्र प्रवेश गर्छन् । उनले वडाध्यक्षलाई गाली गर्दै आक्रामक शैलीमा भित्र प्रवेश गरेपछि वडा अध्यक्ष चतुर्वेदी उठेर भुसाल चौरासिया भएको ठाउँतर्फ गएको सिसिटिभी भिडियोमा देखिन्छ ।
त्यतिकैमा निलो ज्याकेट लगाएका नेपाल प्रहरीका वरिष्ठ सई सागर राना पनि हलभित्र प्रवेश गर्छन् । प्रहरी नै आएपछि होहल्ला नियन्त्रण होला भन्ने सोचेका वडाध्यक्षमाथि तीनै प्रहरीले पहिलो प्रहार गर्छन् । उनले वडाध्यक्षको छाती, आँखा र मुखमा मुक्कै मुक्काले हिर्काउँछन्।
प्रहरीले नै कुटेपछि आक्रामक भिड वडाध्यक्षतर्फ नै खनिन्छ । एकपछि अर्को गर्दै वडाध्यक्षमाथि निरन्तर प्रहार हुन्छ । कुटपिटमा उत्रिनेहरू स्थानीयभन्दा पनि कुनै न कुनै जिम्मेवार पदमा आसीन थिए । चर्तुवेदीमाथि रातो टिसर्ट लगाएका स्थानीय लखन गुप्ताले पटक पटक टाउकोमा हेलमेटले प्रहार गर्छन् ।
प्रहरी र स्थानीयले मात्रै हैन, वीरगन्ज महानगरपालिका-१० का वडाध्यक्ष सुशील शाह कानुले समेत २५ नम्बरका वडाध्यक्षलाई कुटपिट गरेका छन् । यसबाहेक नेपाल प्रहरीका जवान, माई स्थान पुल हाउसका सञ्चालक लगायतले वडाध्यक्षमाथि निर्घात कुटेको भिडियोमा देखिन्छ ।
कुटपिटबाट वडाध्यक्षको टाउको, नाक, मुख र आँखामा चोट लागेको छ । शरीरका विभिन्न भागमा नीलडाम भएको छ । वडाध्यक्ष चतुर्वेदी आफूमाथि किन आक्रमण भयो भन्ने विषयमा अझै अनविज्ञ छन् । आफू निमन्त्रणा आएर पाटीमा पुगेको र त्यहाँ पुग्दा आफूले उनीहरू कसैलाई पनि नदेखेको उनी बताउँछन् । चतुर्वेदी आफूमाथि आक्रमण हुनु बाहुबल प्रदर्शन र शक्तिको दुरुपयोग भएको बताउँछन् ।
आफूमाथि प्रहरीका वरिष्ठ सई समेतले आक्रमण गरेको भन्दै वडाध्यक्ष चर्तुवेदीले जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन समेत दिएका छन् । नेपाल प्रहरीका वरिष्ठ सई सागरशमशेर राणा, प्रहरी जवान दिपेश क्षेत्री, वीरगञ्ज-१० कै वडाध्यक्ष सुशील साह कानु, वीरगञ्ज-११ का ४२ वर्षीय भूषण यादव, वीरगञ्ज-३२ का भुसाल चौरसिया, वीरगञ्ज-६ का ३७ वर्षीय विक्की गुप्ता, वीरगञ्ज-१० का लखनलाल गुप्तासहितले आफूमाथि आक्रमण गरेको दाबी गर्दै उनले प्रहरीमा निवेदन दिएका छन् ।
४ चैतमा उजुरी दिए पनि प्रहरीले अहिलेसम्म तदारुकता देखाएर कारबाही नगरेको उनको गुनासो । ‘उजुरी दिएको एक हप्तापछि बल्ल एसपी सापले बोलाउनु भएको छ । आज प्रहरी कार्यालय जान्छु, त्यसपछि मात्रै के हुन्छ भन्ने थाहा होला,’ उनले भने ।
प्रहरी, जनप्रतिनिधि र स्थानीयबाटै निर्घात हुने गरी कुटिएका वडाध्यक्ष चतुर्वेदी केही दिनसम्मको उपचार र आरामपछि अहिले हिँडडुल गर्न सक्ने भएका छन् ।