काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले चौथो जित दर्ता गराएको छ।
आफूले खेलेका सातमध्ये चार खेलमा जित निकालेसँगै कर्णाली अंक तालिकामा सशस्त्र प्रहरी बलको एपिएफ क्लब र लुम्बिनी प्रदेशसँग अंक बराबरी गरेको छ।
शुक्रबार रुपन्देहीको एक्स्ट्राटेक ओभलमा कर्णालीले मधेस प्रदेशलाई ८१ रनले हरायो। टस जिते पहिले ब्याटिङ गरेको कर्णाली ५ बल खेल्न बाँकी छदा २२० रनमा अलआउट भयो।
कर्णालीका लागि दीपेन्द्र रावतले ६१ रन बनाउँदा अर्जुन घर्तीले २६ रन र दिनेश अधिकारीले २४ रनको योगदान गरे। बलिङमा मधेसका रूपेश सिंह, रंजित कुमार, हरिशंकर साह, कमल गुप्ता र अनिल साहले २(२ विकेट लिए।
२२१ रनको लक्ष्य पछ्याएको मधेस ३५।२ ओभरमा १३९ रनमा अलआउट भयो। उसका लागि रूपेश सिंहले सबैभन्दा बढी ३० रन बनाए।
बलिङमा दिनेश अधिकारीले ४ विकेट लिए। अर्धशतक समेत प्रहार गरेर प्लेयर अफ दि म्याच दीपेन्द्र रावतले ३ विकेट लिन सफल भए।