भारत । प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व जल दिवसको अवसरमा पानी संरक्षण र दिगो विकास प्रवर्द्धन गर्ने भारतको प्रतिबद्धतालाई दोहोर्याएका छन् ।
पानीको महत्वलाई प्रकाश पार्दै प्रधानमन्त्री मोदीले भावी पुस्ताका लागि जल स्रोतको संरक्षण गर्न आग्रहसहित सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका हुन् ।
यसैबीच, जल शक्ति मन्त्रालय पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालय र हरियाणा सरकारको सहकार्यमा विश्व जल दिवसको अवसरमा शनिबार ‘जल शक्ति अभियान: “जलको सञ्चय–२०२५’ सुरु गर्ने तयारी गरेको छ । जल शक्ति मन्त्रालयका अनुसार अभियानले ‘पानी संरक्षणका लागि तीव्र सामुदायिक पहल’माथि जोड दिएको छ ।
अभियानले जलवायु परिवर्तन र बढ्दो जलजन्य चुनौतीको सामना गर्न जल सुरक्षा, वर्षाबाट आउने पानीको सञ्चयलगायतलाई जोड दिएको छ । अभियानले एक सय ४८ जिल्लामा सरकारी निकाय समुदाय तथा हित ग्राहीहरू बीच पानीको दिगो व्यवस्थापन गर्ने समन्वयलाई बढावा दिन्छ ।
अभियानको उद्देश्य ‘हरेक थोपा गणना’ को दृष्टिकोणलाई वास्तविकतामा परिणत गर्दै जल संरक्षणका लागि राष्ट्रव्यापी चेतना र कार्यहरू चलाउनु हो ।
अभियानले नागरिकलाई जलजन्य समस्या समाधानमा सहकार्यको माध्यमबाट भारतको पानीको भविष्य सुरक्षित गर्न आह्वान गरेको छ । सन् १९९३ देखि प्रत्येक वर्ष मार्च २२ लाई संयुक्त राष्ट्र संघको नेतृत्वमा वार्षिक रूपमा विश्व जल दिवसका रूपमा मनाउँदै आइएको छ ।