काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ पत्रकार एवं राजनीतिकर्मी माथवरसिंह बस्नेतको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
नेपालमा लोकतन्त्र स्थापना, पार्टी संगठन तथा पत्रकारिता क्षेत्रमा स्वर्गीय बस्नेतले पुर्याएका योगदानको स्मरण गर्दै सभापति देउवाले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् । उनले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गरेका काँग्रेसले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बस्नेत काँग्रेस जिल्ला कार्यसमिति भक्तपुरका पूर्वसदस्य, नेपालको लोकतान्त्रिक आन्दोलनका योद्धासमेत थिए । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ निवासी स्वर्गीय बस्नेत गणेशमान सिंहको नजिकमा रहेर लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएका थिए ।
गणेशमान सिंह-मेरो कथाका पाना’ नामक पुस्तकका लेखकसमेत रहेका उनी गोरखापत्र संस्थान, प्रेस काउन्सिल नेपाल र राससको पूर्वअध्यक्ष तथा पुर्नजागरण साप्ताहिकका संस्थापक सम्पादक हुन् ।
प्रजातन्त्र पुन:स्थापनाको संघर्षका क्रममा राजकाज मुद्दामा आजीवन जेलको सजायका बाबजुद आफ्नो जीवनकालमा राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजका विभिन्न क्षेत्रमा बस्नेतले पुर्याएका योगदानको मूल्यांकन गर्दै काँग्रेसले दिवंगत आत्माको चिरशान्तिको कामनाका साथ उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।
उनको निधनबाट काँग्रेसले प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा, पत्रकारिता क्षेत्रका अग्रज र अनुभवी व्यक्तित्वलाई गुमाएको पार्टीका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बस्नेतको हृदयाघातका कारण ७९ वर्षको उमेरमा आज बिहान काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।