काठमाडौँ । प्रतिपक्षी नेकपा माओवादी केन्द्र र जसपा नेपालले मधेस प्रदेश सभा बैठक अवरुद्ध पारेका छन् ।
सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै माओवादी संसदीय दलका नेता भरत प्रसाद साहले बैठक चल्न नदिने बताए ।
उनले मुख्यमन्त्री कूटनीति मर्यादा विपरीत विदेश गएको, कमिसन लिएर पालिकालाई सशर्त बजेट दिने गरेको, संघका कर्मचारीसँग मोटो रकम लिएर जिम्मेवारी दिने गरेको लगायतका आरोपको विषयमा मुख्यमन्त्रीको जवाफ माग गरे ।
उनले भने, ‘कूटनीति मर्यादाको ख्याल नगरेको विषयमा मुख्यमन्त्रीले जवाफ दिनुपर्छ । अन्य आरोपको सन्दर्भमा संसदीय छानबिन समिति बनाउनुपर्छ । होइन भने सदन चल्न दिँदैनौँ ।’
सांसद साहले आफ्नो राखेपछि माओवादीका अन्य सांसद र जसपा नेपालका सांसदहरु उभेर संसद अवरुद्ध पारे ।
जसपा नेपालका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सरोज कुमार यादवले सरकारले जिल्लास्थित कार्यालयको योजनाहरू मन्त्रीको सचिवालयबाट वितरण हुने गरेकोमा आपत्ति जनाए ।
उनले भने, ‘माननीय जीहरुले डेढ करोड र ५ करोडको योजना पाए कि पाएनन् भन्ने विषय पनि छ । यसका लागि संसदीय छानबिन समिति बनाउनुपर्छ ।’
माओवादी र जसपा नेपालका सांसदहरु संसद अवरुद्ध पारेपछि सभामुख मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।