काठमाडौँ । गएका ३० वर्षमा नेपालले गरिबी न्यूनीकरणका क्षेत्रमा अभूतपूर्व उपलब्धि हासिल गरे पनि आर्थिक वृद्धि भने उत्साहजनक नभएको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।
विश्व बैंकले सोमबार सार्वजनिक गरेको ‘नेपाल राष्ट्रिय आर्थिक परिदृश्य: नेपालको आर्थिक वृद्धिको सम्भावना खोल्दै’ भन्ने प्रतिवेदनले यस्तो देखाएको हो ।
‘सन् १९९५ मा नेपालमा चरम गरिबी अर्थात् दैनिक २.१५ अमेरिकी डलरभन्दा कम आय हुनेको संख्या ५५ प्रतिशत थियो, जुन २०२३ मा ०.३७ प्रतिशतमा झारेको छ,’ विश्व बैंकको प्रतिवेदनले भनेको छ, ‘यसरी यो तीन दशकमा नेपालले ५४.८ प्रतिशत बिन्दुले चरम गरिबी घटाएर गरिबीमुक्त बनाएको छ ।’
चरम गरिबी हटाउने मामलामा नेपालले हासिल गरेको गति र उपलब्धि अद्वितीय छ, जुन समानस्तरका अन्य मुलुकसँग तुलनायोग्य नै भएको प्रतिवेदनमा उल्लेख छ । हाल भारतमा १२.९ प्रतिशत जनता यस्तो गरिबीको रेखामुनि छन् भने बंगलादेशका ५ प्रतिशत जनता चरम गरिब छन् ।
पाकिस्तानमा पनि यस्तो गरिबी ४।९ प्रतिशत छ । तुलनात्मक रूपमा समृद्ध मुलुक श्रीलंकामा पनि यस्तो गरिबी नेपालभन्दा बढी अर्थात् १ प्रतिशत छ ।
नेपालले यस्तो प्रगति केवल चरम गरिबी निवारणमा मात्र होइन, ६.८५ डलर प्रतिदिन आम्दानी हुने ‘गरिबी हेडकाउन्ट’ अनुपातमा पनि हासिल गरेको प्रतिवेदनले उल्लेख गरेको छ । सन् १९९५ मा त्यस्तो गरिबीको दर ९० प्रतिशत रहेकोमा त्यो सन् २०२३ मा झरेर ५० प्रतिशत पुगेको प्रतिवेदनले उल्लेख गरेको छ ।