काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले कुलमानलाई पदबाट हटाउने विषयमा काँग्रेस पदाधिकारी तहमा कुनै सहमति नभएको स्पष्ट पारेका छन्।
“कुलमान घिसिङलाई पदबाट हटाउन काँग्रेस पदाधिकारी तहको सहमति थिएन। बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिक रूपमा सजग गराइएको थियो,” शर्माले लेखेका छन्।
उनले सरकारले कुनै कारबाही आवश्यक भए, त्यो पछि पनि गर्न सकिने बताउँदै केही राम्रा प्रयासहरूलाई छायाँमा पार्ने गरी कुलमान घिसिङलाई हटाउनु गलत भएको बताएका छन्।
“सरकारको यो निर्णय समयोचित विल्कुलै भएन। असन्तुष्टिलाई निराशाको भासमा पारेर, प्रतिगमनको खेती गर्नेहरूलाई निरुत्साहित गर्नुपर्ने बेलामा सरकारले गलत निर्णय लिएको छ। यसप्रति खुला र प्रष्ट रूपमा विमति छ,” उनले लेखेका छन्।
सरकारले कुलमान घिसिङलाई पुनः नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा नराख्ने निर्णय गरेपछि आम नागरिकदेखि राजनीतिक तहसम्म आलोचना भइरहेको छ। घिसिङको कार्यकालमा लोडसेडिङ अन्त्य भएपछि उनी जनस्तरमा अत्यधिक लोकप्रिय बनेका थिए।