चितवन । कोइला बोकेको ट्रक त्रिशुली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय ट्रक चालक रौतहट सखुवाका रामनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार आज बिहान नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ०३-००१ ख ४८७४ नम्बरको कोइला बोकेको ट्रक अनियन्त्रित भइ भरतपुर महानगरपालिका-२९ स्थित चौध किलोमा त्रिशूली नदीमा खसेको हो । ट्रक त्रिशूलीमा खस्दा ट्रकका चालक र सह चालक दुबै जना घाइते भएका थिए । घाइतेमध्ये चालक यादवको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान ८:३० बजे मृत्यु भएको उनले बताए ।
ट्रकका सहचालक रौतहटको गरुडा नगरपालिका-५ का १९ वर्षीय असुन्द्रकुमार यादव घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।