काठमाडौँ। सत्तारुढ नेपाली काँग्रेस सांसदले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे सरकारले गरेको निर्णयमा पुनर्विचार गर्न सरकारलाई आग्रह गर्नुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा काँग्रेसका सांसदले यस्तो प्रस्ताव राखेका हुन् ।
सार्वजनिक लेखा समितिका पूर्वसभापति समेत रहेका काँग्रेसका सांसद रामकृष्ण यादवले पुनर्विचार गर्न पत्र पठाउने प्रस्ताव राखेका हुन् ।
‘उहाँ (कुलमान घिसिङ)लाई नहटाउनु पर्ने थियो । अहिले चर्चा परिचर्चा भएको छ । अब लेखा समितिका तर्फबाट प्रधानमन्त्रीलाई पुनर्विचार गर्न पत्र पठाऔँ’ उनले भने ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको छ । तर, मन्त्रिपरिषद्को निर्णयमा मुख्यसचिव एकनारायण अर्यालले हस्ताक्षर गर्न बाँकी रहेकोले कुलमान घिसिङले पदबाट हटेको पत्र पाएका छैनन् ।
यो अवस्थामा घिसिङलाई पदबाट हटाउने निर्णयमा पुर्न बिचार गर्न सकिने भन्दै काँग्रेस सांसद यादवले प्रधानमन्त्रीलाई पत्र पठाउने प्रस्ताव गरेका हुन् ।
लेखा समितिको बैठकमा प्रमुख प्रतिपक्षी माओवाद केन्द्र, विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलका सांसदले समेत घिसिङलाई सरकारले हटाएको बारे लेखा समितिको धारणा के हो ? प्रष्ट गर्नुपर्ने बताएका छन् ।
लेखा समितिले घिसिङलाई समेत यसअघि समितिमा बोलाएर छलफल गरेको छ । लेखा समितिमा घिसिङको विषयसँग सम्बन्धित रहेर विगतमा समेत छलफल भएका छन् ।
विगतमा छलफल गरिएको तर, कुनै निर्णय नभएको भनेर मंगलबार सरकारको निर्णयमा धारणा बनाउन आवश्यक रहेको सांसदहरूले बताएका हुन् ।