काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको युगमा व्यक्तिलाई नायक मान्ने राजतन्त्रात्मक व्यवस्थामा फर्कन नसक्ने भएकाले त्यस्तो भ्रममा कोही नपर्न आग्रह गरेका छन् ।
नेपाली काँग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसको अवसरमा काँग्रेस नेत्री सुजाता कोइरालाद्वारा लिखित आत्मकथा “म र मेरो सानो बुबा” को आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले कुनै एक व्यक्ति वा त्यसको परिवारलाई संस्था मानेर हिँड्नु पछौटेपन र सामन्तवादी सोच भएको उल्लेख गरे ।
“सबै नेपालीका पुर्खाले मिलेर यो देश बनाएका हुन्, कुनै एक जना व्यक्तिले होइन, तर केही व्यक्तिहरूलाई नायकत्व दिइएको थियो, त्यो मात्र फरक हो,” प्रधानमन्त्री ओलीले भने। उनले थपे, “अबको युग त्यसमा फर्कन सक्दैन, त्यसको भ्रममा कोही नपर्नुहोस्।”
प्रधानमन्त्री ओलीले सबैको विचार फरक भए पनि देश निर्माणको साझा गन्तव्य एउटै हुनुपर्ने र सबैले देश र जनताको हितमा इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए। उनले लोकार्पित आत्मकथाबाट पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेत्री सुजता कोइरालाको जीवनका विषयमा धेरै कुरा जान्न सकिने बताए।
समारोहमा काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालासँगको आफ्नो उतारचढावको सम्बन्धलाई स्मरण गरेका थिए। काँग्रेसका नेता डा. शेखर कोइरालाले माओवादीको जनयुद्धपछि देशलाई शान्ति प्रक्रियामा ल्याउन पूर्वप्रधानमन्त्री गिरिजाप्रसादको योगदानको चर्चा गरेका छन् ।