काठमाडौँ । नेपाल टेलिकमले कालिकोट जिल्लाको सदरमुकाम देखि मुगु जिल्लाको सदरमुकामसम्म अप्टिकल फाइबर विस्तार गरेको छ ।
टेलिकमले कालिकोट जिल्लाको सदरमुकाम मान्मदेखि जुम्ला हुँदै मुगु जिल्लाको सदरमुकाम गमगढीसम्म पहिलो पटक अल डाइलेक्ट्रिक सेल्फ् सपोटिङ (एडिएसएस)प्रविधिमा आधारित अप्टिकल फाइबर विस्तार गरी उच्च गुणस्तरको सूचना महामार्ग सञ्चालनमा ल्याएको हो ।
देशको दुर्गम क्षेत्रमा समेत सर्वसुलभ रूपमा दूरसञ्चार सेवा विस्तार एवं स्तरोन्नति गर्ने आफ्नो अभियान लक्ष्य अन्तर्गत नेपाल टेलिकमले विस्तार गरेको कालिकोट, जुम्ला, मुगु लगायतका क्षेत्रमा मोबाइल ब्रोडब्याण्ड र फाइबर सेवाको गुणस्तर तथा क्षमता वृद्धि हुनुका साथै भविष्यमा सञ्चालनमा आउने नयाँ प्रविधिको लागिसमेत महत्त्वपूर्ण आधार निर्माण भएको नेपाल टेलिकमको प्रवक्ता हरि ढकालले बताए ।
सेवा विस्तारसँगै उक्त क्षेत्रका सेवाग्राहीहरूले हाल सञ्चालनमा रहेका सेवाहरूको गुणस्तर तथा क्षमता अभिवृद्धि भएको प्रत्यक्ष अनुभव हुने यसका साथै दूरसञ्चार सेवाको लागि आवश्यक पर्ने बैकल्पिक मार्ग समेत स्थापना भई अटुट सेवा प्रवाहको प्रत्याभूति हुने टेलिकमले जनाएको छ ।