काठमाडौँ। कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माइतीघरमा प्रदर्शन गरेको छ ।
बिहीबार माइतीघर मण्डलामा भेला भएर राप्रपाका नेता कार्यकर्ताहरूले कुलमान हटाउने सरकारको निर्णयविरुद्ध प्रदर्शन गरेका हुन् ।
उनीहरूले ‘लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन’, ‘मन्त्रिपरिषद्को निरंकुश र भ्रष्ट निर्णय खारेज गर’, ‘अवस्था बदल्न व्यवस्था बदलौँ’, ‘कुलमान घिसिङ हामी तिम्रो साथमा छौँ’, ‘भ्रष्ट सरकार खारेज गरौँ’, ‘ देशलाई अँध्यारो बनाउने षडयन्त्र विपल पारौँ,’ लगायतका नारा बोकेर प्रदर्शनमा उत्रिएका हुन् ।
सरकारले घिसिङको काम सन्तोषजनक नभएको ठहर गर्दै चैत ११ गते पदबाट हटाउने निर्णय गरेको थियो । घिसिङलाई हटाएर उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको छ ।