म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि वसन्तयाममा ४२ जनाले अनुमति लिएका छन् । अनुमति लिएका आरोहीहरू आधार शिविर पुग्न थालेका छन् ।
पर्यटन विभागका अनुसार यस वर्षको वसन्तकालिन यामका लागि चार समूहका ३० पुरुष र १२ महिला गरी ४२ जनाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएको पर्यटन विभागको साहसिक तथा पर्वतारोहण शाखाले जनाएको छ ।
शाखाका अनुसार आरोहीबाट एक करोड ४७ लाख ९ हजार चारसय २० रुपियाँ रोयल्टी समेत संकलन भएको छ । अघिल्लो वर्षको वसन्तकालिन यामको आरोहणका लागि २५ जनाले अनुमति लिँदा ५९ लाख ६१ हजार सात सय ८० रुपियाँ रोयल्टी संकलन भएको थियो ।
वसन्तकालिन याम सुरु भएसँगै अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमागमा पर्यटक र आरोहीहरूको चहलपहल सुरु भएको मौरिस हर्जोग पदमार्गका अभियन्ताले बताएका छन् ।
वसन्त ऋतुमा अन्नपूर्ण हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिने उनीहरूको भनाई छ । यसैगरी पर्यटकीय सिजन सुरु भएसँगै अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्ने आन्तरिक पर्यटकको संख्यामा पनि वृद्धि हुन थालेको छ । नारच्याङ देखि सुरु हुने मौरिस हर्जोग पदमार्ग र आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ ।