काठमाडौँ । प्रहरीले तिनकुने प्रदर्शनमा ‘जनकमान्डर’ तोकिएका दुर्गा प्रसाईँलाई पक्राउ गर्ने तयारी गरेको छ। प्रसाईँले नेतृत्व गरेको राजावादी आन्दोलनले हिंसात्मक रूप लिएपछि प्रहरी उनलाई पक्राउ गर्ने निष्कर्षमा पुगेको हो।
गृह मन्त्रालयले शुक्रबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा सहसचिव छविलाल रिजालले प्रसाईँलाई कारबाहीको दायरामा ल्याउने बताएका छन्। उनले आन्दोलनका क्रममा भएको हिंसा र अराजकताको जिम्मेवारी प्रसाईँमाथि रहेको संकेत गरे।
शुक्रबार दिउँसो तीनकुनेको सभा बिथोलिएपछि प्रसाईँ आफैँले गाडी चलाएर प्रदर्शनको भीडबाट बाहिरिएका थिए। सो क्रममा उनी ‘आओ–आओ’ भन्दै गाडी हाँक्दै अघि बढेको भिडियोमा देखिएको छ। केही पर निषेधित क्षेत्रमा ठूलो संख्यामा प्रहरी तैनाथ थिए। तर, उग्र गाली गर्दै गाडी चलाउने क्रममा प्रसाईँले सुरक्षाकर्मीलाई समेत अश्लील गाली गरेका थिए। प्रहरीले उनको गाडी रोक्न खोजे पनि उनी प्रहरीलाई पेल्दै अघि बढेका थिए।
निषेधित क्षेत्र तोडेर अघि बढेका प्रसाईँकै कारण राजावादी आन्दोलन उग्र बनेको प्रहरीको ठहर छ। पहिलो घेरामा रहेको प्रहरीको लाइन तोडेपछि त्यसपछिका सुरक्षाकर्मी डराउँदै उनलाई बाटो छोडेको भिडियोमा देखिन्छ। सोही क्रममा स्थिति तनावग्रस्त बन्दै गएको थियो। ठाउँ ठाउँमा तोडफोड र आगजनीका घटना पनि भएका छन्।
प्रहरीले प्रसाईँको गतिविधिलाई लिएर थप अनुसन्धान गरिरहेको छ भने उनलाई पक्राउ गर्न विशेष योजना बनाइरहेको स्रोतले जनाएको छ।