काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीको केन्द्रीय कार्यालयका ढोका र झ्यालहरू तोडफोड गरेर कागजात र फर्निचरहरू जलाउनेलाई कारवाहीको माग गरेको छ ।
महासचिव घनश्याम भुसालले एक विज्ञप्ति जारी गर्दै आफूलाई तथाकथित राजावादी बताउने आपराधिक उन्मादीहरूको कुकृत्यप्रति भर्त्सना गरेका छन् ।
उनले भने, ‘लुटपाट र आगजनी जस्ता क्रियाकलापबाट समाजलाई नियन्त्रण गर्न खोज्ने यस्ता तत्वलाई तिरस्कार तथा प्रतिवाद गर्न र नागरिकहरूको रक्षाप्रति सचेत रहन सम्पूर्ण जनसमुदायलाई हाम्रो पार्टी हार्दिक अपिल गर्दछ ।
पार्टी कार्यालयको वरिपरि हुनसक्ने घटनाबारे आज बिहान ११ बजे नै प्रहरीलाई खबर गरिएको र पार्टी कार्यालयमा आक्रमण हुन थाले पछि फेरि तुरुन्तै प्रहरीलाई खबर गर्दा पनि समयमै सुरक्षाको प्रबन्ध नगर्नु सुरक्षा प्रशासनको घोर लापरबाही भएको नेकपा एसको ठहर छ ।
उनले भने, ‘अहिले यी हुल्लडवाजहरुले अन्य कैयन् सर्वसाधारणको सम्पत्तिमाथि पनि श्रृङ्लाबद्ध आक्रमण गरेर लुटपाट गरेका समाचारहरू आइरहेका छन्। यसबाट सरकारले सुरक्षा प्रबन्ध गर्न नसकेको तथ्य स्पष्ट भएको छ । हाम्रो पार्टी सरकारी संयन्त्रको यस प्रकारको लापरबाही घोर निन्दा गर्दछ र नागरिक जीवनको सुरक्षाको प्रत्याभूति गर्न र तोडफोड तथा आगजनीमा संलग्न सबै अपराधीहरूलाई यथाशीघ्र कडा कारबाही गर्न जोडदार माग गर्दछ ।’