काठमाडौँ । राजसंस्था पुनर्स्थापना लागि बनेको संयुक्त जनआन्दोलन समितिका जनकमाण्डर दुर्गा प्रसाईँले आफूलाई पक्राउ गर्न प्रहरी आइरहनु नपर्ने बताएका छन् । प्रहरीले जहाँ बोलाउँछ त्यहीँ आउने उनको भनाइ छ ।
सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले भनेका छन्, ‘साथीहरू भर्खरै मलाई पक्राउ गर्ने बारेको सूचना प्राप्त भएको छ । मलाई पक्राउ गर्न प्रहरी आइरहन पर्दैन, जहाँ बोलाउँछौ त्यही आउँछु । अब म थुनिएर आन्दोलन रोकिँदैन किन कि दुर्गा अब व्यक्ती हैन बिचार हो, अभियान हो ।’
उनले आजको आन्दोलनमा नेपाल सरकारले एक युवाको हत्या गरेको बताएका छन् । आजको अप्रिय अवस्था सरकारकै दमनले गर्दा उत्पन्न भएको उनको आरोप छ ।
‘हामी वैदिक विधि पूर्वक पूजा अर्चना गरेर आमाको आशीर्वाद लिएर शान्तिपूर्ण रूपमा कार्यक्रम स्थल पुग्दा अश्रु ग्यास प्रहार भइरहेको थियो, त्यो देखेपछि कुन चाहिँ नेपालीको रगत न उम्लँदो हो ?’ उनले लेखेका छन्, ‘हामी तोडफोड गर्न, आगजनी गर्न, प्रहरी कुट्न गएका थिएनौँ, हामी त शान्तिपूर्ण रूपमा सभा, आन्दोलन र घोषणा सभामा सहभागी हुन गएका थियौँ, दमन किन ? जुन अप्रिय अवस्था बन्यो त्यो सबै सरकारको दमनको कारण भएको हो, त्यसको क्षतिपूर्ति सरकारले व्यहोर्नु पर्नेछ ।’