काठमाडौँ । सरकारले पूर्वराजाका समर्थकहरूले काठमाडौंको तीनकुनेमा गरेका अराजक गतिविधिप्रति घोर भर्त्सना गरेको छ।
शुक्रबार अबेर प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले घटनाप्रति कडा आपत्ति जनाउँदै आवश्यक कदम उठाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
सरकारले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, घाइतेहरूको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको गुरुङले बताए।
त्यसैगरी, घटनाका दोषी पहिचान गरी कानूनी कारबाही अघि बढाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। ‘यस्ता अप्रिय घटना दोहोरिन नदिन गृह मन्त्रालयलाई आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइएको छ,’ प्रवक्ता गुरुङले स्पष्ट पारे।