काठमाडौँ । नेपाली परम्परागत पर्वहरूमध्ये विशेष महत्त्व राख्ने घोडे जात्रा आज सैनिक मञ्च, टुँडिखेलमा भव्य समारोहका साथ सम्पन्न भएको छ। राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आयोजित समारोहमा विविध प्रदर्शनहरू प्रस्तुत गरियो।
समारोहमा टांगन घोडा दौड, चार्जर घोडा दौड, टेन्ट पेगिङ्ग, क्रस टेन्ट पेगिङ्ग, शो-जम्पजस्ता रोचक कार्यक्रमहरू देखाइए। साथै, नेपाली सेनाका कुकुरहरूले समेत विशेष कला प्रदर्शन गरे।

समारोहमा राष्ट्रपति पौडेलले शो-जम्पमा प्रथम र द्वितीय स्थान हासिल गर्ने अमलदार पर्शुराम बुढामगर र सिपाही अरुण थापा तथा टेन्ट पेगिङ्गमा प्रथम र द्वितीय स्थान प्राप्त गर्ने जमदार शेषराज खड्का र सिपाही लक्ष्मण रावललाई पुरस्कार प्रदान गरे ।

घोडे जात्रा समारोहमा सम्माननीय उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुख, मन्त्रीगण, विभिन्न संवैधानिक निकायका प्रमुखहरू, नेपाल सरकारका उच्च अधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू, विदेशी राजदूत तथा सैनिक सहचारीहरू, सञ्चारकर्मीहरू तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

सैनिक परम्परा, कौशल र संस्कृति झल्काउने यो वार्षिक समारोह ऐतिहासिक रूपमा काठमाडौँ उपत्यकामा मनाइँदै आएको छ। जनविश्वासअनुसार टुँडिखेलमा घोडा दौडाएर दानवी शक्तिलाई नियन्त्रण गर्ने परम्पराको निरन्तरताका रूपमा नेपाली सेनाले घोडे जात्रा मनाउने गरेको हो।


