काठमाडौँ। मध्यपश्चिम विश्वविद्यालय (एमयू)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान सकिएको छ । नयाँ नेतृत्व चयनका लागि सोमबार भएको मतदान बिहान साढे ९ बजेदेखि बेलुका ५ बजेसम्म मतदान चलेको थियो ।
सहायक मतदान अधिकृत जगत ढकालका अनुसार विश्वविद्यालयमा कुल २८ सय ६४ मत खसेको छ । बिहान ८ बजेबाट मतदान हुने भनिए पनि आन्तरिक तयार नपुग्दा डेढ घण्टा ढिला साढे ९ बजेबाट मतदान सुरु भएको थियो ।
विश्वविद्यालयमा ४ हजार ३ सय ८३ मतदाता थिए । जसमा ६५.३४ प्रतिशतको मात्रै मत खसेको छ भने ३४.६६ प्रतिशत विद्यार्थीहरू मतदानमै सहभागी भएनन् ।
मतदान सकिएसँगै आज बेलुकाबाट नै मत गणना हुने ढकालले बताएका छन् । बेलुकाबाट मत गणना भए भोली बिहानसम्म परिणाम आउने स्ववियु निर्वाचन कमिटीले जनाएको छ ।
विश्वविद्यालयमा ६ वर्ष पछि भएको स्ववियु निर्वाचनमा विद्यार्थीहरू उत्साहका साथ मतदानमा सहभागी भएका थिए । निर्वाचनबाट अध्यक्ष, सचिव र कोषाध्यक्षसहित १० जना प्रत्यक्ष र ९ जना समानुपातिक मतबाट गरी १९ जनाको कार्यसमिति चयन हुनेछ ।