काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको हिउँदे अधिवेशन आज मध्यरातबाट अन्त्य हुँदैछ ।
गत माघ १८ गतेबाट सुरु भएको यो पाँचौँ अधिवेशन आजसम्म गरी जम्मा ६१ दिन चालू भएको संसद सचिवालयले जनाएको छ । जसमध्ये २५ दिनमा २७ वटा बैठक बसेर ११८ घण्टा २१ मिनेट संसदीय काम कारवाहीमा बिताइएको छ ।
यस अधिवेशनमा प्रतिनिधिसभामा १२ वटा सरकारी र एउटा गैर सरकारी विधेयक दर्ता भएको छ । जसमध्ये ५ वटा विधेयक संघीय संसदको दुवै सभाबाट पारित भएका छन् भने ४ वटा विधेयक समितिमा विचाराधीन छन् । ३ वटा विधेयक सभामा प्रस्तुतमात्र भएको र “जाति, रंग, क्षेत्र, भेषभूषा, राष्ट्रियता वा उत्पत्तिमा आधारित भेदभाव (कसुर र सजाय)” सम्बन्धी गैर सरकारी विधेयक दर्ता भएको छ ।
त्यसैगरी राष्ट्रिय सभामा उत्पत्ति भएका ४ वटा विधेयकमध्ये २ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन रहेको बताइएको छ ।