काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री दीपक बोहोराको निधनमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले बुधबार शोक बिदा दिएको छ ।
सांसद बोहोराको निधनले राष्ट्रप्रति समर्पित एक जनप्रतिनिधि गुमाएको भन्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै नगरपालिकाले शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना समेत प्रकट गरेको छ ।
शोक बिदाका दिन सिद्धार्थनगर नगरपालिका मातहतका वडा कार्यालय, आधारभूत स्वास्थ्य केन्द्र, सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द रहने नगर प्रमुख इश्तियाक अहमद खाँले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विद्यालयमा सञ्चालन भइरहेको पूर्वनिर्धारित वार्षिक परीक्षाका कार्यक्रमहरू भने सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ ।