काठमाडौँ । नेपाली काँग्रेसले नेपाल र नेपाली जनताको भावना र मर्ममाथि कुठाराघात हुने गरी राजा र राजतन्त्रको पक्षमा वकालत गर्दै दिग्भ्रमित गर्ने खालका समाचार प्रसारण गर्ने भारतीय मिडियालाई नेपालमा प्रतिबन्ध लगाउन माग गरेको छ।
मंगलबार नेपाली काँग्रेसको मधेस प्रदेश समितिका उपसभापति चन्द्रशेखर कुमार प्रसाद यादवसहितको टोलीले पर्सा र बाराका प्रमुख जिल्ला अधिकारीहरूलाई ज्ञापन पत्र बुझाउँदै राजा र राजतन्त्रको पक्षमा वकालत गरिरहेका भारतीय मिडियालाई नेपालमा प्रतिबन्ध लगाउन माग गरेको हो।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई काँग्रेसले ज्ञापन पत्र बुझाउँदै नेपालको सार्वभौमसत्ता र अखण्डतामा आँच आउने गरी भारतीय मिडियाहरूले राजा र राजतन्त्रको पक्षमा वकालत गरेर दिग्भ्रमित पारिरहेकाले नेपालमा ती भारतीय मिडियाहरूको प्रसारणमा रोक लगाउन माग गरेको काँग्रेस नेता एवं प्रदेशसभा सदस्य श्याम पटेलले बताए।
साथै काँग्रेसले गणतान्त्रिक व्यवस्थालाई कमजोर गर्नका निम्ति मृत भई सकेका राजतन्त्रलाई फर्काउन आन्दोलनका नाममा गरेको विध्वंसको भर्त्सना पनि गरेको छ। काठमाडौंमा राजवादीहरूको नाममा गरिएको हिंसात्मक घटनाको छानबिन गरी दोषीहरूलाई कारबाही गर्न काँग्रेसले माग गरेको पटेलले बताए।