काठमाडौँ । बर्दियाको बारबर्दिया नगरपालिकाले उपमेयरलाई अभद्र व्यवहार गर्ने प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ ।
बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक आचार्यले कार्यालय समयमा मदिरा खाई अभद्र व्यवहार गरेको आरोपमा उनीबिरुद्ध मुद्दा चलाउन तयारी गरेको नगर उप प्रमुख रत्न कुमारी पाण्डेले जानकारी दिइन् ।
दिउँसै मदिरा सेवनपछि मातेर कार्यालयमा आएर झैझगडा गरेका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा चलाउने कार्यपालिका बैठकले निर्णय गरेको पाण्डेले बताइन् । आफूमाथि गैर जिम्मेवार हर्तक गरेको हुँदा प्रमुख प्रशासकीय अधिकृतमाथि कानुनी कारबाही गर्ने बैठकले निर्णय गरेको उपमेयर पाण्डेको भनाइ छ ।‘अब हामी केही बेरमै मुद्दा हाल्न जाँदैछौं, यसका लागि जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेको छ,’ उनले भनिन्, ‘पालिकाले अभद्र व्यवहारसम्बन्धी र मैले साइबर क्राइमसम्बन्धी मुद्दा हाल्ने निर्णय कार्यपालिकाको बैठकले गरेको छ।’
यस्तो थियो घटना
प्रमुख प्रशासकीय अधिकृत आचार्यले मंगलबार दिउँसो मदिराले मातेर कार्यालयमा आएर उपमेयर रत्नकुमारी पाण्डेको कार्यकक्षमा गई झैझगडा गर्नुका साथै उद्दण्ड व्यवहार प्रदर्शन गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत आचार्यले उपमेयरको कार्यकक्षमा टेबल ठोक्दै होहल्ला गर्दै अपशब्द प्रयोग गर्नुका मेयर उपमेयरलाई सडक छाप बनाइदिने धम्की दिएका थिए ।
मंगलबार दिउँसो मदिराले मातेर कार्यालयमा आएर सार्वजनिक रूपमै झैझगडा र गालीगलौजमा उत्रिएपछि पालिका नगर प्रमुख छविलाल थारुले प्रहरीलाई खबर गरेका थिए । उनलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको थियो । तर मापसे जाँच गरी मंगलबार बेलुकी छाडेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी ऋषीराम घर्ती मगरले जानकारी दिए ।
प्रहरीले प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना कर्मचारीलाई पक्राउ गरेको थियो । मापसे चेक गराउँदा प्रमुख प्रशासकीय अधिकृतले मापसे गरेको पुष्टि भएको थियो । उपमेयर पाण्डेका अनुसार प्रहरीले रिहा गरेयता प्रमुख प्रशासकीय अधिकृत सम्पर्कविहीन भएका छन् ।