काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले बुधबार प्रदर्शनमा उत्रिएका शिक्षकहरूले शान्तिपूर्ण आन्दोलन गरेको भन्दै धन्यवाद व्यक्त गरेका छन् ।
कुनै फोहोर नगरी र नभत्काई आन्दोलन गरेकोको भन्दै मेयर शाहले भनेका छन्, ‘हामीले जरिवाना खोजेका होइनौँ, चेतना खोजेको हो ।’
उनले सबै मिलेर चेतनशील समाज निर्माण गर्नुपर्ने बताउँदै काठमाडौंमा प्रदर्शनका क्रममा देखिएको दृश्य आफ्ना विद्यार्थीसमक्ष पनि लागू गर्न आग्रह गरेका छन् ।
‘सार्वजनिक सम्पत्ति पनि आफ्नै सम्पत्ति हो भनेर त्यसलाई जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजेको हो । यही शिक्षा तपाईँले आफ्नो विद्यार्थीहरूलाई पनि दिनुहोला,’ मेयर शाहले भनेका छन्, ‘हामी सबै मिलेर चेतनशील समाजको निर्माण गरौँ । तपाईँहरू त झन् शिक्षक हुनुहुन्छ, तपाईँहरूको त झन् ठुलो जिम्मेवारी र भूमिका छ ।’
उनले विद्यार्थीको पढाइ नबिगारी कार्यक्रम गर्न पनि शिक्षकहरूलाई आग्रह गरेका छन् ।
‘गाउँ गाउँमा सिंहदरबार भन्ने त नारा मात्र भयो । आशा छ एक दिन आफ्नो अधिकारको लागि काठमाडौँ धाइरहनु नपरोस्,’ उनले भनेका छन् ।