त्रिशूली (नुवाकोट) । नेपाली काँग्रेसका प्रवक्ता तथा पूर्वमन्त्री डा. प्रकाशशरण महतले खेल क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण पहिलो प्राथमिकता रहेको बताएका छन् ।
नुवाकोटको सूर्यगढी गाउँपालिमा आज आयोजित पाँचौँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले खेल र खेलाडीको उत्पादनका लागि खेल मैदानसहितको पूर्वाधार आवश्यकता रहेको बताएका हुन् ।
“खेल मैदानको अभावले खेलाडीले क्षमता प्रदर्शन र खेल पर्यटनको वृद्धि गराउन सकिएको छैन”, उनले भने, “सीमित स्रोतसाधन तथा सेवा र सुविधामा खेलाडीबाट भइरहेको प्रदर्शन सन्तोषजनक छ ।
तीन तहमा रहेका सरकारले रंगशाला, कभर्डहललगायत भौतिक संरचना निर्माणमा प्राथमिकता दिनुपर्छ ।” खेल क्षेत्रको विकासले देशलाई एक ढिक्का विश्वसामू चिनाउन र खेल पर्यटनमार्फत आर्थिक उपार्जन बढाउन सहयोग पुग्ने उनको भनाइ छ ।