काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछाने प्रधानमन्त्री बन्न हतारिएको तर आफूले संविधानको प्रावधान देखाएर त्यसलाई रोक्नुपरेको खुलासा गरेका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटसमार्फत उनले रवि लामिछानेको सम्भावित प्रधानमन्त्री बन्ने प्रयास र त्यसमा भएको आन्तरिक छलफलको पृष्ठभूमि स्पष्ट पारेका हुन् ।
ढकालका अनुसार, प्रधानमन्त्री ‘प्रचण्ड’ले काँग्रेससँगको गठबन्धन तोडेर एमाले-रास्वपा गठबन्धन बनाएपछि काँग्रेस प्रतिपक्षमा गएको थियो । त्यसपछि विभिन्न माध्यमबाट लोकतान्त्रिक गठनबन्धननिर्माणको प्रस्ताव आउन थालेका थिए ।
नेपाली काँग्रेसले रवि लामिछानेलाई एक वर्षका लागि प्रधानमन्त्री बनाउने, त्यसपछि देउवाले नेतृत्व लिने प्रस्ताव गरेको ढकालको दाबी छ ।
‘रवि दाइ प्रधानमन्त्री बन्न आतुर भइसकेका थिए,’ ढकालले लेखेका छन्, ‘कसरी सरकार छोड्ने र काँग्रेससँगको सहकार्यलाई प्राकृतिक देखाउने भनेर रणनीति बनाउने जिम्मेवारी मलाई आएको थियो ।’
ढकालले त्यसबेला संविधानको धारा १०० (२) को उल्लेख गर्दै यस्तो हतारो गलत हुने तर्क गरेको दाबी गरेका छन् ।
उक्त धाराअनुसार, सरकारमा सहभागी दलले समर्थन फिर्ता लिँदा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। ‘यस अवधिमा ‘प्रचण्ड’ले तिकडम गर्न सक्थे, वा देउवालाई धारा ७६ (२) अनुसार प्रधानमन्त्री बनाउने बाटो खुल्ला हुन्थ्यो,’ ढकालले भनेका छन् ।
उनले काँग्रेसको प्रस्ताव तत्काल कार्यान्वयन नहुन सक्ने, ३० दिनभित्र काँग्रेसले धोका दिने सम्भावना रहन सक्ने भन्दै त्यसले रास्वपाको क्षति हुने निष्कर्ष निकालेको उल्लेख गरेका छन् ।
‘काँग्रेसप्रति कुनै दरिलो विश्वासको आधार थिएन,’ उनले लेखेका छन् ।
ढकालका अनुसार, सबै संविधानिक र राजनीतिक समीकरण हेरेपछि रवि लामिछाने आफैँ पनि काँग्रेसको प्रस्तावमा शंका गर्न थाले र प्रधानमन्त्री बन्ने अवसर नभएको बुझे ।
शुक्रबार साँझ आफूलाई पक्राउ गर्न आएका प्रहरी अधिकारीलाई रास्वपा सभापति रवि लामिछानेले ‘आफू प्रधानमन्त्री बन्न छोडेर हिँडेको’ भन्दै अभिव्यक्ति दिएका थिए ।
यसबारे ढकालको टिप्पणी छ, ‘इतिहासको कुनै पनि समयमा रवि लामिछानेलाई प्रधानमन्त्री बन्ने अवसर जुटेको थिएन। प्रधानमन्त्री पद छोडेको भन्ने दाबी निराधार हो ।’
उनले संविधान, त्यतिबेलाका समाचार रिपोर्ट, संसदीय अंकगणित र लोकतान्त्रिक गठबन्धनको सम्भावनालाई प्रमाणका रूपमा हेर्न आग्रह गरेका छन्।
ढकालले रविलाई लक्षित गर्दै लेखेका छन्, ‘राजनीतिक पार्टीबीच हुने आन्तरिक छलफललाई बारम्बार दोहोर्याएर रवि दाइले अराजनीतिक चरित्र देखाएका हुन्। म त त्यतिबेला के भएको थियो भन्ने स्पष्ट पारिदिएको मात्र हुँ ।’