काठमाडौँ । लोकतान्त्रिक गणतन्त्र र संविधानको पक्षमा देशव्यापी जागरण अभियान अन्तर्गत नेकपा (एमाले) सुर्खेतले चैत २६ गते भव्य जनजागरण सभा आयोजना गर्ने भएको छ ।
आइतबार २६ गते जागरण सभा आयोजना गर्न लागिएको जनाइएको हो ।
सो कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रमुख प्रतिपक्ष दलका नेता तथा एमाले संसदीय दलका नेता यामलाल कँडेलसहित पार्टीका अन्य वरिष्ठ नेताहरूको उपस्थिति रहने नेकपा (एमाले) सुर्खेत जिल्ला कमिटीले जानकारी दिएको छ।
नेकपाले प्रेस नोटमार्फत वर्तमान सरकारमाथि संविधान र जनमतविरुद्ध सत्ताको दुरुपयोग गर्दै अधिनायकवाद स्थापित गर्ने प्रयास भइरहेको आरोप लगाएको छ।
पार्टीले यस्ता प्रवृत्तिहरूको विरोधमा र लोकतान्त्रिक मूल्यमान्यताको रक्षा तथा स्थायित्वको पक्षमा जनमत निर्माण गर्न जनजागरण अभियान चलाएको जनाएको छ।
प्रेस नोटमा उल्लेख भएअनुसार, संविधान विपरीत ढंगले राज्यसत्ताको दुरुपयोग र असंवैधानिक गतिविधिहरू बढ्दो रूपमा देखिएको सन्दर्भमा आम जनतालाई जागरूक तुल्याउन अभियान सञ्चालन गरिएको हो ।
जागरण सभा २६ बिहान ११ बजे वीरेन्द्रनगरको मंगलगढि चोकबाट सुरु भई पिपलचौतारास्थित सभा स्थलमा पुगेर सम्पन्न हुनेछ ।
एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले सबै जनसमुदायलाई कार्यक्रममा सक्रिय सहभागिताको अपिल गरेका छन् ।