फुङ्लिङ । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ताप्लेजुङको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमका साथ महालेखा नियन्त्रक डा. गणेशप्रसाद पाण्डेयद्धारा नवनिर्मित भवनको उद्घाटन गरिएको हो ।
ताप्लेजुङको फुङलिङ नगरपालिका-३ मा दुई करोड २८ लाख ९१ हजार १८६ को लागतमा उक्त भवनको निर्माण सम्पन्न भएको कोलेनिका ताप्लेजुङका कोष नियन्त्रक यमनाथ गिरीले बताए । उनका अनुसार कार्यालयको भवन निर्माणका लागि सुरुमा तीन करोड ६४ लाख ९७ हजार २०९ रुपियाँको लागत लाग्ने अनुमान गरिएको थियो ।
विसं २०७७ साल चैत १९ गते दुई करोड ४७ लाख ९ हजार १८६ रुपियाँमा भवन निर्माणको ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भएको झण्डै चार वर्षको अवधिमा मिति २०८१ साल असोज ३० गते भवनको निर्माण कार्य सम्पन्न भएको हो ।
महालेखा नियन्त्रक डा. गणेशप्रसाद पाण्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उद्घाटन समारोहमा विशिष्ट अतिथिको रूपमा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा पौडेल, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) रवि रावल, सशस्त्र प्रहरी बल १ नं गुल्म हेड क्वाटर कञ्चनजङ्घाका सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जन लगायतको उपस्थिति रहेको थियो ।