काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार नसुध्रिए प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेरेर भात पानी बन्द गरिदिने चेतावनी दिएका छन् ।
मंगलबार पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले आफूहरू गोली नचलाउने तर बालुवाटार घेर्न भने सक्ने बताए ।
‘मैल फेरि पनि भन्छु, नसुध्रने हो भने हामी पनि गोली चलाउँछौँ त भन्दिन । बालुवाटार घेरेर भात पानी बन्द गरिदिन सक्छौँ ,’ लिङ्देनले भने, ‘यो कुरा याद राख ।’
अहिलेको जनता मूर्ख भएर नबस्ने भन्दै उनले सूचनालाई कसैले पनि मुठ्ठिमा राख्न नसक्ने जिकिर गरे ।
‘अब जनता मूर्ख भएर बसिराख्दैन । सूचना प्रविधिको यति विकास भएको छ । अब सूचनालाई कसैले आफ्नो मुठ्ठिमा राख्न सक्दैन,’ लिङ्देनले भने ।
उनले आफूहरू सल्लाह गरेरै विद्रोहमा जाने पनि जिकिर गरे ।
‘विद्रोह नै गरेर जाऔँ भन्नुहुन्छ भने हामी सल्लाह गरेरै जान्छौँ, झुक्याएर जान्दैनौँ,’ लिङ्देनले भने ।