काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०८२ वैशाख ३ गते रुपन्देहीको भैरहवा आउने भएका छन् ।
पार्टीले सञ्चालन गरेको हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान अन्तर्गत प्रचण्ड ३ गते भैरहवा आउने भएका हुन् ।
माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा युवा नेता तीर बहादुर रोकाया (डार्बिन) का अनुसार वैशाख ३ गते बिहान प्रचण्ड पश्चिम नवलपरासी आउने कार्यक्रम छ ।
सोही दिन उनी साँझ भैरहवा बस्ने, वैशाख ४ गते बिहान मर्निङवाक गर्ने र मर्निङवाकपश्चात भैरहवामा युवा, बुद्धिजीवी, उद्योगी, व्यवसायीसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन् ।
त्यस्तै वैशाख ४ गते दिउँसो रुपन्देहीको मर्चवारमा हुने आमसभालाई प्रचण्डले सम्बोधन गर्नेछन् । आमसभामा पार्टीका पदाधिकारीहरूको पनि उपस्थिति रहनेछ । हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियानको कार्य योजना सम्बन्धी महत्त्वपूर्ण निर्णयहरू भएको नेता रोकायाले बताए ।
सोमबार रुपन्देहीमा रहेका नेकपा ९माओवादी केन्द्र० लुम्बिनी प्रदेश समितिका नेताहरूको उपस्थितिमा भएको बैठकले अभियानलाई सफल बनाउने निर्णय गरेको हो । पार्टीको रुपन्देही जिल्ला इन्चार्ज सोनिया यादवको अध्यक्षता, केन्द्रीय सचिव, लुम्बिनी प्रदेश इन्चार्ज तथा पूर्वकृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ को प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।