काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले कामको गति लिन नसकेको बताएका छन् ।
नेपाली काँग्रेस गुल्मीको तेस्रो जिल्ला अधिवेशनलाई मंगलबार सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
‘कामको गति मिलिरहेको छैन । सरकार जुन गतिमा जानुपर्ने हो, गति भएन, गति पुगेन । म जुन ठाउँमा बसेर काम गरिरहेको छु, एउटा संयन्त्रमा बसेर काम गरिरहेको छु, त्यो संयन्त्रभित्र भन्ने कुरा पनि यही हो, बाहिर भन्ने कुरा पनि यही हो । यो गतिले पुग्दैन, म पार्टीका सभापतिलाई पनि त्यही कुरा भनिरहेको छु । प्रधानमन्त्रीलाई पनि त्यही कुरा भनिरहेको छु ।’
प्रधानमन्त्री र मन्त्रीहरूले २–३ महिना एक शब्द नबोली काम गर्न उनले आग्रह गरे । ‘प्रधानमन्त्री(मन्त्रीहरूले राम्रो काम गरिदिनुस् । तपाईँहरूले गरेका राम्रो कामको प्रचार हामी गर्छौँ,’ थापाले भने ।
जनताले अपेक्षा गरे अनुसारको उपलब्धि दलहरूले दिन नसक्दा असन्तुष्टि बढेको उनले बताए । ‘नागरिकमा असन्तुष्टि छ । असन्तुष्टि किन छ भने, २० वर्ष नागरिकले प्रतीक्षा गर्यो । २०६० सालदेखि २०८० साल भनेको २० वर्ष भयो । यो भित्रमा जति छिटो परिणाम आउनुपर्थ्यो । त्यो परिणाम आउन सकेन । नागरिकमा ठूलो बेचैनी र असन्तुष्टि देखिन्छ ।’
नागरिकमा देखिएको असन्तुष्टिमा एक थरी मानिसले मट्टितेल खन्याउने काम गरिरहेको थापाले बताए । थापाले भने, ‘एक थरीका मानिसहरू आगो ह्वारह्वार्ती बल्छ भन्ने ठानेर मट्टितेल खन्याइरहेका छन् । मट्टितेल कसले खन्याइरहेको छ भनेर पछि लाग्ने काम काँग्रेसको होइन । असन्तुष्टि किन छ भनेर चिन्ने काम काँग्रेसको हो । असन्तुष्टिको आगो निभाउने हाम्रो काम हो ।’
तीन तहको सरकारमा काँग्रेस रहेका कारण जिम्मेवारीबाट काँग्रेस भाग्न नमिल्ने उनको भनाइ छ । उनले भने, ‘तर यो जिम्मेवारी छ भनिरहँदा काँग्रेस जिम्मेवारीको नाममा नचाहिने बोझबाट थिचिराख्न पनि सक्दैन । हामी सरकारमा जानका लागि मात्रै गएको होइनौँ । निश्चित उद्देश्य राखेर सरकारमा गएका हौँ । हामी संविधान संशोधन गर्छौँ भनेर, सुशासन दिन्छौँ भनेर, असन्तुष्टि चिर्छौँ भनेर सरकारमा गएका हौँ । यी कामबारे समीक्षा गर्नु जरुरी छ ।’
भ्रष्टाचार, कुशासनलाई लिएर नागरिकमा ठूलो निराशा छाएको भन्दै थापाले भने, ‘हामी सरकारमा रहन्छौँ, छौँ । तर सरकारमा रहँदै गर्दा यो सरकार घाम रहेसम्म, जुन रहेसम्म सरकार रहन्छौँ भन्ने ढंगबाट होइन, यो सरकार बनाउनुको पनि उद्देश्य थियो । त्यो उद्देश्यको कसीमा हामी सफल भयौँ कि भएन भन्ने कुरालाई प्रत्येक पल हेर्नुपर्नेछ ।’
जसले गलत काम गर्छ त्यसको जिम्मा उसैले लिनुपर्ने उनको भनाइ थियो । थापाले भने, ‘यो सरकारले देशको भ्रष्टाचारलाई सफा गर्ने काम गर्नुपर्छ । भ्रष्टाचारलाई सफा गर्ने क्रममा काँग्रेसको स्पष्ट कुरा छ, जोसुकै परोस्, काँग्रेस परोस्, एमाले परोस्, दायाँको परोस्, बायाँको परोस्, हाम्रो परोस्, आमाको परोस्, मामाको परोस्, हामी जान्दैनौँ । गलत काम गर्ने मान्छेले सजाय पाउनुपर्छ । यो मान्यता स्थापित गर्न सक्यो भने बल्ल नागरिकहरूमा भरोसा पैदा हुन्छ । त्यो भरोसा सिर्जना गर्ने काम हामी मिलेर गर्नुपर्छ ।’