काठमाडौँ । नेकपा एमालेकी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले नेपाली जनताले गणतन्त्रको विकल्प नखोजेको बताएकी छन् । उनले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्नेसमेत जिकिर गरिन् ।
एमाले जिल्ला कमिटी रुपन्देहीले चैत २९ गते बुटवलमा आयोजना गर्न लागेको जागरण सभाबारे मंगलबार पुष्पलाल स्मृति भवनमा पार्टीको जनसंगठनसँगको छलफलमा सचिव अर्यालले अब नेपाली समाज अँध्यारोतर्फ फर्कन नसक्ने बताइन् ।
उनले राजतन्त्र फर्कन नसक्ने दाबी गरिन् । ‘नेपालको संविधानले राजालाई चिन्दैन, राजसंस्था अवैज्ञानिक व्यवस्था हो, उनले भनिन्, ‘चैत १५ गते काठमाडौंमा लुटपाट, आतंक मच्चाउने र व्यक्तिको निजी सम्पत्तिमाथि भएको तोडफोडको जिम्मेवारी ज्ञानेन्द्र शाहले लिनुपर्छ भन्ने एमालेको धारणा हो ।’
पूर्वमन्त्री अर्यालले चैत २९ गते बुटवलमा एमालेको तागत देखिने बताइन् । मुलुकको अस्थिरता नै विकासको बाधक भएको र यसलाई मध्यनजर गर्दै दुई ठूला दल मिलेर सरकार बनाएको उनले बताइन् ।
‘काँग्रेस-एमाले मिलेर सरकार नबनाएको भए धेरै सरकार बनिसक्थे । छिटो छिटो सरकार परिवर्तन रोक्न ठूला दल मिलेका हौँ’, उनले भनिन्, ‘यो समीकरणका माध्यमबाट राजनीतिक स्थिरता दिन खोजेका छौँ ।’
एमाले रुपन्देही जिल्ला उपसचिव तथा जनसंगठन समन्वय समितिका संयोजक बाबुराम पन्थीले जागरण सभामा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने र सभामा ५० हजारभन्दा बढीको उपस्थिति हुने दाबी गरे ।
‘संविधान र गणतन्त्रविरुद्ध सुनियोजित गतिविधि भइरहेका छन्’, उनले भने, ‘यस्ता गतिविधिलाई निस्तेज पार्न तथा लोकतन्त्र र संविधानको रक्षाका लागि एमालेले यो कार्यक्रम गर्दै छ ।’