काठमाडौँ । राजसंस्था पुनः स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले तीनकुने आन्दोलनपछि समातिएका नेताहरूलाई रिहा गर्न सरकारलाई वैशाख २१ गतेसम्मको अल्टिमेटम दिएका छन् ।
सरकारले आफूहरूको माग सुनवाइ नगरेको खण्डमा २२ गते सामूहिक गिरफ्तारी दिने उनले घोषणा गरेका छन् ।
आज समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा गुरुङले सो घोषणा गरेका हुन् । उनले सामूहिक गिरफ्तारीका लागि सबैभन्दा अगाडि आफू उभिने समेत बताए ।
गुरुङले भने, ‘वैशाख २१ गतेसम्म नवराज सुवेदीको नजरबन्द फुकुवा र हाम्रा साथीहरूको मुद्दा खारेज गरेर रिहाइ भएन भने २२ गते तीनकुनेमा सहादत प्राप्त भएका वीर सहिदको रगत लत्पतिएको माटोको टीका लगाएर सामूहिक गिरफ्तारी दिनेछौँ । हामी ज्यानको माया मारेर अगाडि बढ्ने छौँ । सबैभन्दा अगाडि म हुन्छ । तपाईँहरू को-को आउनुहुन्छ आउनुस् ।’
आफूहरूको आन्दोलन भद्र अवज्ञा स्वरूपको हुने उनले प्रष्ट पारे ।
गुरुङले थपे, ‘केही साथीहरू सशस्त्र आन्दोलनको कुरा पनि गर्नुहुन्छ । तर, अहिले सशस्त्र आन्दोलनको अवस्था होइन । महात्मा गान्धीले भद्र अवज्ञा आन्दोलन गरेर नै अंग्रेजलाई जितेका थिए । हामी पनि भद्र अवज्ञामा जान्छौँ । २१ गते घोषणा हुन्छ ।’
तीनकुने आन्दोलनपछि राजावादीहरू भागे भन्ने गलत हल्ला फैलिएको उनले बताए ।
‘राजावादी डराएर भागे भन्ने हल्ला फैलिएको छ । राजा अब आउँदैन भन्ने छ । तर, त्यो होइन । हामी आन्दोलनमै छौँ । पछि हटेका छैनौँ,’ उनले भने ।