काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले माल्दिभ्सका चिकित्सकहरूलाई नेपालमा स्नातकोत्तर (पीजी) अध्ययन गराउने वातावरण बनाउन पहल भइरहेको बताएका छन् ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५८औँ सत्रमा सम्बोधनका लागि अमेरिकाको न्यूयोर्कमा रहेका मन्त्री पौडेलले माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री खदिजा अब्दुल समाद अब्दुल्लासँगको भेटवार्ता गरेका छन् ।
मन्त्री पौडेलका अनुसार भेटका क्रममा राज्यमन्त्री स्वास्थ्य राज्यमन्त्री अब्दुल्लाले नेपाल र माल्दिभ्सबीचको सम्बन्ध सुमधुर माल्दिभ्सका विद्यार्थीलाई नेपालमा अध्ययनका लागि पठाउन आफूहरू इच्छुक रहेको बताइन् । उनले चिकित्सकहरूका लागि नेपाल राम्रो गन्तव्य रहेको बताएकी थिइन् ।
जवाफमा मन्त्री पौडेलले यथाशीघ्र तयारी पूरा गरेर अध्ययनका लागि वातावरण मिलाउने प्रतिबद्धता जनाए । मन्त्री पौडेलले नेपाल माल्दिभ्सका नागरिकलाई एमबीबीएस शिक्षा दिलाउनका लागि समेत तयार रहेको बताए।
मन्त्री पौडेलले यसअघि गत असोज ७ गते इन्डोनेसियाको जाकार्तामा माल्दिभ्सका स्वास्थ्य मन्त्री अब्दुल्ला खलीलसँगको वार्तापछि माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी अध्ययन गराउन आवश्यक सुझाव दिन संयुक्त समिति गठन गरेका थिए ।
माल्दिभ्सले नेपालले वातावरण बनाएमा पीजी विद्यार्थी पठाउने बताएपछि मन्त्री पौडेलले नेपाल मेडिकल काउन्सिललाई चिकित्सा शिक्षाको द्विपक्षीय मान्यता तथा प्रवर्द्धनको उपायबारे सुझाव दिन आग्रह गरेका थिए ।
सोही अनुसार काउन्सिलले दुवै देशको मापदण्डका आधारमा द्विपक्षीय सम्झौतापश्चात् विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गराउन सकिने आसयको प्रतिवेदन दिएको थियो । सोही आधारमा मन्त्री पौडेलले सम्झौताको तयारी गर्न नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा चोपलाल भुषाल संयोजकत्वको सात सदस्यीय समिति गठन गरेका थिए ।