काठमाडौँ । गत चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएकी रेविका खत्रीलाई गृहमन्त्री रमेश लेखकले अस्पताल पुगेर उनलाई भेटेका छन् ।
रवीकाको अवस्थामा सुधार आएको छ । उनलाई हिजो आईसीयूबाट क्याबिनमा सारिएको दिदी अनिताले जानकारी दिइन् ।
कोटेश्वर भाटभटेनी नजिकै रहेको डेरामा जान लाग्दा रेविकालाई गोली लागेको थियो । गोलीले तिघ्रा वारपार भएपछि सडकमा पछारिएकी उनलाई सुरुमा भेन्टिलेटर र त्यसपछि आईसीयूमा राखेर उपचार गरिएको हो ।
रेविकाका दाइ (काकाको छोरा) दिनेशलाई पनि एकै पटक गोली लागेको थियो । दिनेश भने केही दिनअघि नै डिस्चार्ज भइसकेका छन् ।
रेविकाको भने सिभिल अस्पतालमा उपचार जारी छ । आज । पहिलो पटक सरकारका जिम्मेवार व्यक्ति भेट्न आउँदा रेविकाले मनको बह पोख्न पाएकी थिइन् । उनले आफ्नो भविष्य सुनिश्चित गराइदिन आग्रह गरिन् ।
उनले हात जोड्दै भनिन्, ‘सुरुमा मेरो खुट्टा ठिक हुनुपर्यो । त्यसपछि योग्यता र क्षमताअनुसारको रोजगारी दिएर सरकारले मेरो भविष्य सुनिश्चित गरिदिनुपर्यो ।’
गृहमन्त्री लेखकले सकारात्मक जवाफ दिएका छन् । उनले भने, ‘पहिले उपचार गर्नु, अरु कुराको बारेमा तपाईँ(हामी सल्लाह गरौँला ।’
रेविकाको उपचार खर्च सरकारले व्यहोर्ने आश्वासन लेखकले दिएका छन् ।
उनले भने, ‘अहिलेसम्म खर्च गरेको बिल अस्पतालमार्फत स्वास्थ्य मन्त्रालयमा जान्छ र सरकारले भुक्तानी गर्छ ।’
रेविकाकी दिदी अनिताका अनुसार सुरुका केही दिनमा परिवारले उपचार खर्च व्यहोर्दै आएको भए पनि अहिले अस्पतालले पैसा मागेको छैन ।
उनले भनिन्, ‘अहिले अस्पतालमा नि:शुल्क भइरहेको छ । बाहिरबाट ल्याउनुपर्ने औषधि मात्रै आफ्नो पैसाले किनेका छौँ ।’
रविकाको खुट्टा ठिक हुने आशा रहेको र आजबाट थेरापी सुरु गरिएको उनले जानकारी दिइन् । आज उनले एउटा खुट्टा बिस्तारै टेकेकी थिइन् ।