काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेससँगको सहकार्य २०८४ को चुनावपछि पनि कायम रहने दाबी गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले आजभोलि नै सरकार परिवर्तन हुने हल्लामा कुनै सत्यता नभएको बताए ।
उनले भने, ‘हाम्रो देशलाई अब विकासमा अगाडि बढाउन एकपछि अर्को अनुकूलता छ । देशमा सबैभन्दा ठूला योगदान गरेका, इतिहास बोकेका जिम्मेवार पार्टी कम्फर्टेबल बहुमतसहित सरकारमा छन् । स्थिरता र स्थायित्व छ, रहन्छ पनि । अहिले सरकार परिवर्तन भइहाल्छ अर्को आइहाल्छ भन्ने स्थिति छैन । यो २०८४ को चुनावसम्म जान्छ र त्यसपछि पनि यो सिलसिला कायम रहन्छ ।’
प्रधानमन्त्री ओलीले दुई ठूला पार्टी मिलेर सरकार बनाएकाले देशमा तीव्र विकासको अवसर भएको जिकिर गरेका छन् ।