काठमाडौँ । गृहमन्त्री रमेश लेखकले असल व्यवहार गरेर सेवा प्रवाह सुधार गर्न निर्देशन दिएका छन् ।
मुलुकभरमा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समिति र मन्त्रालयका विभागीय प्रमुखहरूसितको भर्चुअल बैठकमा बोल्दै मन्त्री लेखकले सेवा प्रवाहसित असल व्यवहार, बानी र बचनसित जोडिएको धारणा राखेका हुन् ।
“ सेवा प्रवाहको विषय असल बचनसित पनि जोडिएको हुन्छ ।” गृहमन्त्री लेखकले भने-“सेवाग्राहीहरूसित असल व्यवहार, नम्र र शिष्ट रूपमा प्रस्तुत हुन थप बजेट आवश्यक पर्दैन ।”
उनले सीमित स्रोतसाधन, जनशक्ति र भौतिक पूर्वाधारको अभावका बिच पनि काम गर्नुपरेको बताए ।
“ सेवा प्रवाह सुधारको विषय पहिलो नम्बरमा राखेर काम गर्नुपर्छ ।” उनले भने-“अरूको सेवा प्रवाहको अनुगमन गर्ने दायित्व पनि हाम्रो हो ।”
कार्यसम्पादनमा ध्यान दिन आग्रह गर्दै उनले सेवा प्रवाह सुधारका साथै हेल्प डेष्क र टोकन प्रणाली लागू गर्नेमा जोड दिनुहोला ।”
सेवाग्राहीलाई सन्तुष्ट बनाएर पठाउनु आजको आवश्यकता रहेको मन्त्री लेखकको भनाई थियो ।
बैठकमा गृहसचिव गोकर्णमणि दुवाडी, विभिन्न विभागीय प्रमुख र प्रमुख जिल्ला अधिकारीले धारणा राखेका थिए ।