काठमाडौँ । प्रहरीले चैत १५ गते राजावादीहरूको आन्दोलनको क्रममा तीनकुने क्षेत्रमा आगजनी तथा तोडफोडमा संलग्न थप एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरी परिसर काठमाडौँका अनुसार ललितपुर महानगरपालिका-२७ बस्ने ५३ वर्षीय कमलकुमार विष्टलाई नियन्त्रणमा लिइएको हो ।
उनले चैत १५ गते राजावादीहरूको आन्दोलनको क्रममा तीनकुने क्षेत्रमा आगजनी र तोडफोड गर्नुका साथै नेपाललाई श्रीलंका र बंगलादेश जस्तो बनाउने अभिव्यक्ति दिएको आरोपमा विष्टलाई पक्राउ गरी आपराधिक उपद्रव कसुरमा म्याद थपसमेत गरिएको काठमाडौँ प्रहरीले जनाएको छ ।
उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट २० दिनको मिलान म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विष्टले कमल विष्टको नामको फेसबुक आईडीबाट नेपाल ‘श्रीलंका, बंगलादेशको मोडलमा अगाडि बढ्नुपर्छ’ भन्ने जस्ता उत्तेजक अभिव्यक्तिहरू उनको फेसबुक पेजमा लेखी विभिन्न व्यक्तिहरूलाई ट्याबसमेत गरेको पाइएको छ ।