काठमाडौँ । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सरकारी तथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अझै बढाउन आवश्यक रहेको बताएका छन् ।
अत्तरियाको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयको स्वर्ण महोत्सव तथा अभिभावक दिवस उद्घाटन गर्दै प्रदेश प्रमुख मियाँले विगतमा भन्दा पछिल्लो समय शिक्षाको गुणस्तर बढिरहेको भए पनि पर्याप्त भने भई नसकेको बताए ।
सरकारी तथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन सक्दा निजी विद्यालयमा पढाउनुपर्ने बाध्यताको अन्त्य हुने भन्दै उनले सरोकारवाला सबैलाई यसतर्फ ध्यान दिन आग्रह गरे ।
सुदूरपश्चिम प्रदेश सबै क्षेत्रमा अब्बल रहेको र सुदूरपश्चिम अब सुन्दर पश्चिम भइसकेको प्रदेश प्रमुखको भनाइ थियो ।
कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम, विशेषाधिकार समिति सभापति तुलसी देवकोटा, गोदावरी नगरपालिका मेयर वीरेन्द्र भट्टलगायतले शिक्षाको सुधार आजको आवश्यकता रहेको बताएका थिए । उनीहरूले प्राविधिक शिक्षातर्फ पनि जोड दिनुपर्ने बताए ।
स्वर्ण महोत्सव तीन दिनसम्म चल्नेछ । बुधबार विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्नुका साथै विभिन्न झाँकी तथा विभिन्न समुदायको पहिचान झल्किने नृत्य प्रस्तुत गरिएको थियो ।