काठमाडौँ । काठमाडौँ महानगर प्रहरी प्रमुख पाण्डे र मेयर बालेन साहका स्वकीय सचिवलाई कारबाही गर्न माग गरिएको छ ।
स्थानीय तहमा क्रियाशील पेशागत संगठनहरूले चैत २१ गते काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेको नेतृत्वमा भएको कार्यालयको मर्यादाविपरीतको अनुशासनहीन, गैरकानुनी, अमर्यादित र अनपेक्षित घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई हदसम्मको कारबाही गर्न माग गरेका हुन् ।
उनीहरूले तीन दिनभित्र अधिकार सम्पन्न छानबिन समिति गठन गर्न माग गरेका छन् ।
सो घटनाको सम्बन्धमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई बिहीबार बुझाइएको ज्ञापन पत्रमा पाण्डेलाई महानगर प्रहरी ऐनअनुसार तत्काल निलम्बनमा राख्न माग गरिएको छ ।
यस ज्ञापन पत्रमा स्थानीय तह कर्मचारी युनियन, नेपाल, स्थानीय तह कर्मचारी संघ नेपाल, महानगर कर्मचारी परिषद्, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल वातावरण तथा सरसफाइ श्रमिक संघका प्रतिनिधिहरूको हस्ताक्षर छ।
घटनापछि प्रमुख बालेनका स्वकीय सचिवको नाममा सचिवालयका कर्मचारीले सार्वजनिक सञ्चारमाध्यममार्फत उपप्रमुख र वडाध्यक्षहरूलाई लाञ्छित गर्ने प्रयास गरेको भन्दै उनीहरूमाथि पनि कारबाहीको माग गरिएको छ ।
ज्ञापन पत्रमा भनिएको छ, ‘कार्यालयको प्रशासनिक प्रमुखको रूपमा नेपाल सरकारले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई काठमाडौं महानगर प्रहरी बलका प्रमुख र उनका कर्मचारीहरूले प्रशासनिक कार्यमा बाधा पुर्याउने कार्य गरेका छन्, जसका कारण प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि र कर्मचारीहरूलाई धरपकड र आपत्तिजनक भनाइहरूको सामना गर्नुपरेको छ ।’


