काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले केही समयअगाडि सरकारले ल्याएको अध्यादेश काँग्रेसकै आइडियामा ल्याएर संयुक्त सरकारमार्फत कार्यान्वयन गरेको दाबी गरेका छन् ।
नेपाली काँग्रेस क्षेत्र नम्बर २ अन्तर्गत दोस्रो प्रदेश सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै महामन्त्री थापाले अर्थतन्त्र ठूलो दबाबमा रहेको अवस्थामा कानुनी सुधार गर्न अध्यादेश ल्याइएको बताए ।
‘अर्थतन्त्र ठूलो दबाबमा छ । सरकारले लगानी र व्यवसायको वातावरण बनाउन केही कानुनी सुधार गर्नुपर्नेछ भनेर, यो काँग्रेसकै आइडिया हो,’ उनले भने, ‘हाम्रो आइडियामा हामीले सरकारलाई काम गरायौँ । संयुक्त सरकारले काम गर्यो र केही कुराको सुधार भएको छ ।’
अध्यादेशमार्फत कानुनी सुधार गरेर सरकारले महत्त्वपूर्ण काम गरेको महामन्त्री थापाले जिकिर गरे । ‘संसदबाट केही कानुन पारित भएको बारे बरालिएको बहस भयो अध्यादेश ठिक कि बेठिक भनेर’ उनले भने, ‘आर्थिक क्षेत्र सुधार्न सरकारले केही महत्त्वपूर्ण काम गरेको छ । यो सुखद छ ।’
सरकारले संकटको महसुस गरेपछि अध्यादेश ल्याएको उनको तर्क छ । ‘सरकारले इमरजेन्सीको महसुस गर्यो । अर्थतन्त्रमा ठूलो दबाब छ । बैंकमा पैसा छ । ऋण लिन कोही पनि गइरहेको छैन । राष्ट्र बैंकमा विदेशी मुद्रा भरिभराउ छ सदुपयोग गर्न सकिएको छैन,’ उनले भने, ‘सरकारको ढुकुटीमा भएको पैसा उसले प्रयोग गर्न सकेको छैन । सरकारको ढुकुटीमा आउनुपर्ने जति पैसा उठिरहेको छैन ।’