काठमाडौँ। रोल्पाका बुधबार राति हावाहुरीसहित परेको वर्षा र चट्याङले एक जनाको मृत्यु भएको छ भने केही भवनहरूमा क्षति पुगेको छ ।
चट्याङ लागेर रोल्पा नगरपालिका १० कुटिबाङ घर भई रोल्पाकै सुनिल स्मृति गाउँपालिकास्थित आफन्तको घरमा बस्न गएकी १५ वर्षीया किशोरीको मृत्यु भएको छ ।
यसै गरी चट्याङ लागेर अर्घाखाँचीको भूमिका स्थान नगरपालिका-१० धनचौरस्थित लिसेपानी गाउँका ७२ वर्षीय यमबहादुर घर्तीको मृत्यु भएको छ । घरको दलानमा बसिरहेका अवस्थामा आज बिहान चट्याङ लागेर बेहोस भएका उनलाई उपचारका लागि अर्घाखाँची अस्पतालमा लगिएको थियो । उपचारका क्रममा साढे १२ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा रहेका अन्य परिवार भने सकुशल छन् ।
गए रातीको हावाहुरीले प्रदेशका विभिन्न जिल्लामा क्षति पुर्याएको छ । बाँकेको वनकट्टास्थित इलाका प्रहरी कार्यालयको तीनकोठे भवनको टिनको छाना,पाल्पाको बल्डेङगढीस्थित वडा कार्यालयको भवनको टिनको छानो हावाहुरीले उडाइदिएको छ ।
ती दुवै भवनमा तत्काल बस्न सक्ने अवस्था नरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बर्दियाको मधुवन नगरपालिका १ स्थित शंकर रावलको फुसले छाएको एक तले दुई कोठा घर चट्याङ परेर आगलागी भई जलेको छ ।
अर्घाखाँचीमा गए रातीको हावाहुरीले पाणिनि गाउँपालिका ६ धातिबांगमा १७ घर गोठका छाना उडाएको छ। वडा भरीमा ११ वटा घर र ६ वटा गोठका छानो हावाहुरीले उडाएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। हावाहुरीले छानो उडाएका घरगोठ तथा अन्य क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको वडा अध्यक्ष पौडेलले बताएका छन्।
सन्धिखर्क नगरपालिका १० धरमपानीका कमल जिसिको कुखराको खोर गए रातीको हावाहुरीले भत्काइ पूर्णरुपमा क्षति भएको छ। खोर भत्किएपछि खोरमा रहेका झन्डै १ सय ५० वटा बोइलर कुखरा च्यापिपिएर मरेका छन्।
हावा हुरीसँगै परेको वर्षाको कारण शितगंगा नगरपालिका १२ देउराली बस्ने भीम बहादुर चित्रेको टिनले छाएको २ तले कच्ची घरको छानो उडाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। छानो उडाउनुको साथै घरको गारोसमेत भत्किएको छ।
गए राति आएको हुरी बतासले बाँकेको कोहलपुरमा ३३ केभी प्रसारण लाइनका तीनवटा पोल ढल्दा जिल्लाका केही ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।