काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक जीविका मात्र चलाउन पनि उत्पादन गर्न नसक्ने अवस्थामा पुगेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०८१ मा ओलीले सामूहिक र ठूलो परिमाणमा उत्पादन गर्न अग्रसर हुनु पर्ने बताए ।
‘बिहान उठ्नेबित्तिक्कै नेपालमै बनेको दन्तमञ्जनले ब्रस गर्न पाइयोस् । नेपालमै उत्पादित साबुनले हात धुन पाइयोस्, ’उनले भने, ‘घनले पिटेर भाँडा बनाउन सक्ने तर सजिलो सबै आयात गर्नुपर्ने ?
प्रविधिको विकास गर्न चुकेको भन्दै उनले अब प्रविधिको आयात गरि नेपालमै उत्पादन गर्नुपर्ने बताए । सूचना तथा प्रविधिमा निकै ध्यान दिन खोजिरहेका छौँ । यसले मात्र पुग्दैन, ‘उनले भने, ‘कृषि प्रविधि, सेवा प्रविधिलगायतमा ध्यान दिनुपर्छ ।’
कृषिमा आत्मनिर्भर हुन नसक्ने देशले आयात गर्ने मुलुकमा प्रतिकूल भयो भने समेत असहज हुने उनले बताए । ‘त्यसैले कृषिमा आत्मनिर्भर हुनुपर्छ, आधारभूत आवश्यकता परिपूर्ति गरेपछि मात्रै पूर्वाधार विकासमा जानुपर्छ,’ उनले भने । बढी लाभ दिने वस्तुमा प्रविधि प्रयोग गरि उत्पादन गर्न लाग्नुपर्ने उनले बताए ।